कक्षा १२ को परीक्षा नरोकिने, परीक्षा सञ्चालन गर्न निजामती कर्मचारी खटाउने तयारी

काठमाडौं । शिक्षकहरुले आन्दोलन जारी राखेका बेला राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकको बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।
शिक्षकहरुले आन्दोलन जाी राखेका कारण सरकारले कक्षा १२ को परीक्षा सञ्चालन गर्न निजामती कर्मचारी खटाउने भएको छ । बैठकबारे जानकारी दिँदै बोर्ड अध्यक्ष महाश्रम शर्माले आन्दोलनमा रहेका शिक्षकलाई कक्षा १२ को परीक्षामा सहभागी हुन र सञ्चालन गर्न पुनः अनुरोध गर्ने निर्णय गरेको जानकारी दिए ।
शिक्षक तथा कर्मचारीहरुको जारी आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका कारण कतिपयले कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुनेमा शंका गरेका थिए । तर आज बिहान बसेको बोर्ड बैठकले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समिति मार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
आजको बैठकमा अधिकांश पदाधिकारीले परीक्षा जसरी पनि गराउने र यसको लागि प्रमुख जिल्ला अधिकारीलाई थप सक्रिय बनाउनु पर्ने बताएका थिए । परीक्षा सञ्चालन जिल्ला समन्वय समितिको संयोजक प्रमुख जिल्ला अधिकारीलाई नै परीक्षाको सबै जिम्मा दिने विषयमा छलफल भएको छ । बैठकमा निजामती कर्मचारीले लोकसेवा आयोगको परीक्षा त सञ्चालन गर्न सक्छन् भने १२ कक्षाको पनि सक्छन् भन्नेमा अधिकांशको मत मिलेको थियो ।
बैठकमा सबै शिक्षकहरू आन्दोलनमा नआएकोले ती केन्द्रमा शिक्षक नै केन्द्राध्यक्ष र निरीक्षक राख्न सकिने विषयमा छलफल भएको थियो । बोर्ड अध्यक्ष शर्मा भन्छन्, ‘सबै शिक्षक आन्दोलनमा हुनुहुन्न । सकेसम्म हामी शिक्षक नै केन्द्राध्यक्ष र निरीक्षक राख्छौँ । जहाँ हुनुहुन्न, त्यहाँ सीडीओले विकल्प खोजेर परीक्षा सञ्चालन गर्न सक्नुहुनेछ ।’
प्रतिकृया दिनुहोस