गोली चलाएर नियन्त्रणमा लिएका व्यक्ति भारतीय नागरिक भएको खुलासा

काठमाडौं । टोखाको ग्राण्डी अस्पताल नजिकै लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले गोली चलाएर नियन्त्रणमा लिएका व्यक्ति भारतीय नागरिक रहेको खुलेको छ ।
उनीहरुको पूरा परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन । ब्यूरोका प्रमुख तथा एसएसपी कृष्ण कोइरालाले विभिन्न ठाउँबाट चार जनालाई नियन्त्रणमा लिएको बताएका छन् । लागूऔषध नियन्त्रण ब्युरोको टोलीले टोखामा दुई जना लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लिएको हो ।
सो क्रममा प्रहरीमाथि नै आक्रमण भएको थियो । त्यसपछि गोली चलाएर दुई जना र थप दुई गरी चार जनालाई नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट १ सय ५० ग्रामभन्दा बढी ब्राउन सुगर पनि बरामद गरेको छ । नियन्त्रणमा लिने क्रममा उनीहरुको आक्रमणबाट दुई प्रहरी रवीन्द्र केसी र नवराज घिसिङ पनि घाइते भएका छन् ।
‘लागूऔषध कारोबारी दुई जनालाई गोली हानेर नियन्त्रणमा लिएको भन्ने छ,’ ब्युरोका सूचना अधिकारी एसपी जनकबहादुर शाहीले भने,‘हाम्रो टोलीले नियन्त्रणमा लिन खोज्दा उनीहरू आक्रमणमा उत्रिएपछि गोली चलाउनुपर्यो । जानकारी लिने क्रममा छु । सम्पर्क हुन सकेको छैन ।’
एसपी शाहीका अनुसार गोली लागेका दुवै जना भारतीय नागरिक हुन् । दुवै जनालाई उपचारका लागि प्रहरी अस्पताल लगिएको छ ।
प्रतिकृया दिनुहोस