स्ववियु निर्वाचन प्रक्रिया आजदेखि शुरु, संगठन दर्ता आज ३ बजेसम्म

Chunab swabiyu

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते सञ्चालन गर्न लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रिया शुक्रबार सुरु हुँदैछ । आगामी चैत ५ गते देशभरका त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ ।

त्रिविमा २०१८/१९ सालदेखि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सुरु भएको हो । सुरुका वर्षमा प्रत्येक वर्ष हुने गरेकोमा २०३६ सालपछि प्रत्येक दुई–दुई वर्षको अन्तरालमा निर्वाचन हुँदै आएको छ ।

त्रिविले २०७३ सालदेखि मिश्रित प्रणालीमा निर्वाचन सुरु गरेको हो । जसअनुसार सभापति, सचिव तथा कोषाध्यक्ष र ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन तथा उपसभापति र उपसचिव समानुपातिक एवं ५० प्रतिशत सदस्य समानुपातिकबाट चयन हुनेछन् । तर २०७३ सालमा उपत्यकामा नौवटा र उपत्यका बाहिर १७ वटा क्याम्पसमा मात्र निर्वाचन सम्पन्न भएको थियो । स्ववियुको कार्यसमितिमा उम्मेदवार हुन उम्मेदवारी दर्ताको दिन २८ वर्ष ननाघेको हुनुपर्नेछ ।

विश्वविद्यालयअन्तर्गतको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने विद्यार्थी संगठनले शुक्रबार अपराह्न ३ बजेभित्र दर्ता गर्नु पर्नेछ । फागुन २१ गते निर्देशनालयले मतदाताको नामावली प्रकाशन गर्नेछ ।

नामावलीमाथि फागुन २५ गते दिउँसो १ बजेभित्र दाबी विरोध गर्न पाइने छ । दाबी विरोधमाथि छानबिन गरेर त्यही दिन साँझ ५ गते मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने निर्देशनालयका सदस्यसचिव प्राध्यापक पशुपति अधिकारीले जानकारी दिए ।

उनकाअनुसार फागुन २६ गते प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको मनोनयनपत्र वितरण गरिनेछ । फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मनोनयनपत्रको नामावली दाखिला हुनेछ । साँझ ५ बजे प्रत्यक्षतर्फका उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेभित्र प्रत्यक्षतर्फका उम्मेदवारमाथि दाबी विरोध गर्ने समय तोकिएको छ । साँझ ५ बजे प्रत्यक्षतर्फका उम्मेदवारमाथि परेको दाबी विरोधमाथि छलफल गरेर अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिकामा उल्लेख छ ।

प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाहरूलाई फागुन २९ गते दिउँसो १ बजेसम्म फिर्ता लिने समय दिइनेछ । त्यही ही दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्देशनालयले जनाएको छ । बिहान ८ बजेदेखि निर्वाचन हुनेछ ।

प्रतिकृया दिनुहोस