भोली शिक्षक पदमा बढुवा तर्फको विज्ञापन खुला हुँदै, यस्तो छ मापदण्ड

Teacher aayog

काठमाडौं। शिक्षक सेवा आयोगले बुधबार शिक्षक पदमा बढुवा तर्फको विज्ञापन खुला गर्ने भएको छ । आयोगले बुधबार प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको द्वितीय र प्रथम श्रेणीका लागि बढुवा खुला गर्ने भएको हो ।

जिल्ला विकास तथा समन्वय कार्यबाट प्राप्त भएको प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको द्वितीय र प्रथम श्रेणीका रिक्त दरबन्दीको विवरणको आधारमा ७५ प्रतिशत कार्य सम्पादन मूल्याङ्कनको आधारमा र २५ प्रतिशत आन्तरिक प्रतियोगितात्मक आधारमा वर्गीकरण गरी विज्ञापन खोल्ने तयारी गरेको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए ।

आयोगका अनुसार कार्य सम्पादन मूल्याङ्कन (७५ प्रतिशत)तर्फ तीन तहको प्रथम र द्वितीय श्रेणीमा दुई हजार ६२२ पदमा बढुवाको लागि विज्ञापन खुला हुने र आन्तरिक प्रतियोगितात्मक (२५ प्रतिशत)तर्फ तीनै तहको प्रथम र द्वितीय श्रेणीमा ८६७ पदको लागि बढुवा खुला हुनेछ ।

आयोगको अनुसार आन्तरिक प्रतियोगितात्मक तर्फ ३० दिनसम्मको म्याद हुने र त्यसपछि दोब्बर दस्तुर बुझाएर थप सात दिन गरी फागुनको १९ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस्तैगरी कार्य सम्पादन मूल्यांकनका लागि ३५ दिने म्याद फागुनको १७ गतेसम्म दरखास्त दिन सकिनेछ । आन्तरिक प्रतियोगितात्मक तर्फको परीक्षा चैत २१ गते आयोगले तय गरेको छ ।

विगतमा शिक्षक सेवा आयोगले कार्य सम्पादन मूल्यांकनको फारमको लागि उम्मेद्वारले आफ्नै हिसाबले कागजपत्र राख्ने व्यवस्था गरेको थियो । तर यो वर्ष भने आयोगले आवश्यक कागजपत्रको लागि ‘शिक्षण अनुभव तथा अविछिन्न सम्बन्धी फारम’ विकास गरेर आयोगको वेबसाईटमा राख्ने व्यवस्था गरेको प्रवक्त मरहठ्ठाले बताए । त्यसको अतिरिक्त उनले भने कसरी सिलसिलेवर तरिकाले राख्ने भन्ने पनि सूचनासँगै प्रकाशित गर्ने तयारी गरेको आयोगले जनाएको छ ।

त्यसको आधारमा उम्मेद्वारले हस्ताक्षर गरेर सम्बन्धित कार्यलयमा बुझाउनुपर्नेछ । र त्यो कागजात बुझ्ने व्यक्तिले भनिएका कागजात भए नभएको जाँच गर्दा ठिक छ भने अगाडी नै राईट लाउनुपर्ने र नभएको अवस्थामा क्रस गर्नुपर्नेछ । र रुजु गर्ने व्यक्तिले दस्तखत गर्नुपर्ने प्रावधान राखेको छ ।
आयोगका अनुसार प्राथमिक द्वितीयका लागि सात सय र प्रथमका लागि र निम्न माध्यमिक द्वितीयका लागि एक हजार आवेदन शुल्क तोकिएको छ । त्यस्तैगरी निम्न माध्यामिक द्वितीयका लागि र माध्यमिक द्वितीयका लागि एक हजार दुई सय शुल्क तोकिएको छ भने माध्यामिक प्रथमका लागि एक हजार पाँच सय रुपियाँ शुल्क तोकिएको छ ।

शिक्षा ऐन र शिक्षक सेवा नियमावलीले माध्यमिक तहमा विभिन्न विषय तोकिएको अंग्रेजी, गणित, विज्ञान, कार्यलय सञ्चालन लेखा, कम्प्युटर विज्ञान, इलेक्ट्रिकल इन्जिनियर, सिभिल इन्जिनियर, कानून र कृषि तथा बाली विज्ञानजस्ता विषयहरुमा तालिम नलिए पनि अध्ययन अनुमति पत्र लिन पाउने, माध्यमिक तहको खुल्ला प्रतिस्पर्धाबाट शिक्षक हुन पनि पाउने व्यवस्था छ । तर त्यस्ता शिक्षकहरुले १० महिने शिक्षक तालिम लिएका छैनन भने उम्मेद्वार हुन नपाउने आयोगले जनाएको छ ।

प्रतिकृया दिनुहोस