कक्षा १२ को नतिजा सार्वजनिक, ७ हजार ६३ जनाले प्राप्त गरे ‘ए प्लस’

1549762405 class 12 exam

काठमाडौँ । कक्षा १२ को नतिजा प्रकाशित भएको छ । शुक्रबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

गत ३० भदौदेखि ८ असोजसम्म सञ्चालन भएको कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक भएको छ । त्यसअघि साउन ३१ गतेबाट हुने भनिएको परीक्षा साउन २३ मा दोस्रोपटक स्थगित गरिएको थियो । परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी सहभागी थिए ।

बोर्डका अनुसार तीन लाख ७४ हजार १५ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा ७ हजार ६३ जना विद्यार्थीले ए प्लस नतिजा प्राप्त गरेका छन् । त्यस्तै ए ग्रेड नतिजा ल्याउने विद्यार्थीको संख्या ४८ हजार २३९ रहेको बोर्डले जनाएको छ ।

७० हजार १ जनाले बी प्लस प्राप्त गरेका छन् । त्यस्तै ९९ हजार ५३७ जनाले बी ग्रेड प्राप्त गरेको बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले बताए । त्यस्तै ७५ हजार ०८८ जना विद्यार्थीले सी प्लस नतिजा प्राप्त गरेको उनले बताए ।

यसैगरी २४ हजार ५१५ जना विद्यार्थीले ग्रेड सी नतिजा प्राप्त गरेका छन् भने ३ हजार ८७५ जना विद्यार्थीले डी प्लस प्राप्त गरेका छन् । डी ग्रेड प्राप्त गर्ने विद्यार्थीको संख्या २९६ छ । त्यस्तै १० हजार ७३ जनाले ग्रेड ई प्राप्त गरेका छन् । त्यस्तै ४६ जना विधार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।

बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन गरेको थियो । कोभिड–१९ का कारण परीक्षा दिन नपाएका ४१ जना विद्यार्थीहरुले गत बुधबारदेखि परीक्षा दिएका छन् ।

उनीहरुको परीक्षाफल १० दिनभित्र प्रकाशित गरिने बोर्डले जनाएको छ । नतिजा सिस्टममा अपलोड गर्ने काम चलिरहेकाले विद्यार्थीहरुले डेढ घण्टापछि मात्र नतिजा हेर्न सक्ने बोर्डले जनाएको छ ।

कक्षा १२ को नतिजा वेबसाइट, एसएमएस र आईभीआर सेवाबाट थाहा पाउन सकिन्छ । शिक्षा मन्त्रालयको www.moe.gov.np  राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र नेपाल टेलिकमको www.neb.ntc.net.np वेबसाइटमा गएर नतिजा हेर्न सकिने छ ।

यसैगरी नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

प्रतिकृया दिनुहोस