विज्ञान शिक्षालाई प्राथमिकता दिन जोड

Ministry of education science and technology 776

काठमाडौँ । मुख्यसचिव शङ्करदास वैरागीले विद्यालय तहदेखि नै विज्ञान शिक्षालाई महत्व दिइने बताए ।

नवौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा मुख्यसचिव वैरागीले हरेक तहले विज्ञान शिक्षाका लागि प्राथमिकता दिनसकेमा विज्ञानमार्फत समृद्धि हासिल हुने बताए ।

मन्त्रालयका शिक्षा हेर्ने सचिव रामप्रसाद थपलियाले विज्ञानको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिए ।  विज्ञान हेर्ने सचिव सुरेश आचार्यले विज्ञान कूटनीतिको प्रवद्र्धन गर्दै यस क्षेत्रमा वैदेशिक लगानी र ज्ञान ल्याउन पहल गर्नुपर्ने आवश्यकता औल्याए । पूर्वविज्ञानमन्त्री गणेश साहले विज्ञान र हरेक क्षेत्रको अन्तरसम्बन्ध विस्तार गर्नुपर्ने बताए । 

‘विज्ञान तथा प्रविधिको उन्नत विकासः प्रकोप र महामारीबाट सहज निकास’ आदर्श वाक्य (नारा) सहित आज यो दिवस मनाइएको हो । दिवसको मूल समारोह समितिले दिवसका अवसरमा रु २५ हजार राशिको विज्ञान पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका मणि दाहाललाई दिने घोषणा गरियो । यस्तै एरोनोटिक प्रविधि, अन्तरिक्ष प्रविधि, उदियमान प्रविधि, विपद् न्यूनीकरणसम्बन्धी प्रविधि, जैविक प्रविधिका विधामा पुरस्कार घोषणा गरिएको छ ।

दिवसका अवसरमा शिक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । नेपालमा अमृत साइन्स क्याम्पस स्थापना भएको दिनलाई नेपाल सरकारको २०६९ मङ्सिर ८ गतेको निर्णयानुसार यो दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा साताव्यापी कार्यक्रम मनाइँदैछ । 

प्रतिकृया दिनुहोस