जहाँ शिक्षक छन्, विद्यार्थी छैनन्

Math teacher

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका- ४ खाल्लेस्थित बालज्योति प्राविमा शिक्षक संख्याको अनुपातमा विद्यार्थी संख्या कम रहेको पाइएको छ । दुईवटा स्थायी दरबन्दी र एउटा करार दरबन्दी रहेको विद्यालयमा हाल विद्यार्थी संख्या भने २५ जना मात्र रहेको जनाइएको छ ।

कक्षा ४ सम्मको पठनपाठन हुँदै आएको विद्यालयमा हाल कक्षा १ मा १२ जना र कक्षा २ मा छ जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक उर्मिला कटुवालले बताइन् । प्रअ कटुवालका अनुसार कक्षा ३ र कक्षा ४ को विद्यार्थी संख्या भने विद्यालय खुलेपछि मात्र खुल्नेछ । कोभिड- १९ को महामारीका कारण सो विद्यालयको पठनपाठन गत १५ वैशाखदेखि बन्द छ ।

सो ठाउँका अधिकांश अभिभावकले आफ्ना बालबच्चालाई बोर्डिङ स्कुलमा भर्ना गरेका कारण बालज्योतिमा विद्यार्थी संख्या न्यून देखिएको हो । सो विद्यालयमा सामान्य पारिवारिक अवस्थाका बालबच्चा मात्र अध्ययन गर्न आउने गरेका छन् । त्यसमा पनि दलित बस्तीका बालबालिका बालज्योतिमा आउने गरेको व्यवस्थापन समितिका अध्यक्ष राजन बस्नेतले बताए । ‘यहाँ विद्यालय नभए दुई दर्जन जना बालबच्चाको भविष्य अन्धकार हुन्छ’, विव्यास अध्यक्ष बस्नेतले भने, ‘शीतला मावि पुग्न टाढा पर्छ, सगरमाथा प्रावि धेरै तल पर्छ । भौगोलिक रूपले समस्या छ ।’

सो विद्यालयमा विद्यार्थी संख्या न्यून रहेको गत २५ जेठमा प्रकाशित २०७७ सालको वार्षिक परीक्षाको नतिजाले पनि देखाउँछ । नतिजामा कक्षा १ उत्तीर्ण गर्ने प्रथम, दोस्रो र तेस्रोसहित पाँच जना उल्लेख छ । कक्षा २ र कक्षा ३ उत्तीर्ण गर्ने विद्यार्थीको सूचीमा प्रथम दोस्रो र तेस्रोको नाम मात्र उल्लेख छ । कक्षा ४ उत्तीर्ण गर्नेको सूचीमा प्रथम विद्यार्थीको नाम मात्र उल्लेख छ ।

यस्तै, २०७७ सालमा प्रारम्भिक बाल शिक्षा केन्द्रमा तीन जना, कक्ष १ मा छ जना, कक्षा २ मा चार जना, कक्षा ३ मा तीन जना र कक्षा ४ मा दुई जना गरी कुल विद्यार्थी संख्या १८ जना रहेको नगरपालिकाकै तथ्यांकमा उल्लेख छ । झरी, वर्षा भएको र गाउँघरमा पूजापाठ भएको दिन पनि विद्यालयमा विद्यार्थी अनुपस्थित हुने गरेका छन् । सो विद्यालयमा पाँचदेखि १० जना विद्यार्थी उपस्थित हुने गरेको खाल्लेकी वडा सदस्य धनकुमारी श्रेष्ठले बताइन् ।

विद्यार्थी संख्या न्यून रहेको सो विद्यालयमा नगरपालिकाले गत १ भदौमा थप अर्को एक जना करार शिक्षक नियुक्त गरेको हो । विद्यार्थी संख्या नभएको विद्यालयमा जागिर खुवाउनकै लागि शिक्षक थपेको भन्दै कतिपय अभिभावकले आलोचना गरिरहेका छन् ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको स्थानीय राजपत्रमा प्रकाशित शिक्षा ऐन, २०७५ मै ‘नगरपालिकाले शिक्षकको दरबन्दी निर्धारण गर्दा विद्यालयमा अध्ययन गर्ने विद्यार्थी संख्या र विषयका आधारमा राष्ट्रिय वा प्रादेशिक मापदण्डबमोजिम विद्यार्थी तथा शिक्षक अनुपात कायम गर्नुपर्नेछ’, उल्लेख छ । यसअनुसार एक शिक्षक बराबर सरदर ४५ जना विद्यार्थी हुनुपर्छ ।

नगर शिक्षा ऐनमा प्राथमिक तहको विद्यालयमा २२ जनाभन्दा कम विद्यार्थी संख्या भएमा नगर शिक्षा समितिको सिफारिसमा बाल शिक्षा केन्द्र मात्र कायम राखी त्यसमाथिका कक्षाहरू बन्द गर्न सक्नेछ’, भनिएको छ । खाल्लेका वडा अध्यक्ष डिल्ली चाम्लिङले भने शिक्षक भर्ना गर्दा रिसइबी गरिएको बताए ।

‘हामीले शिक्षक नियुक्तिका लागि विज्ञापन खुलाएका थियौँ, त्यही रिसइबीले विद्यार्थी आउँदैन भनेका हुन्’, वडा अध्यक्ष चाम्लिङले भने, ‘विद्यालयमा विद्यार्थी नियमित उपस्थित हुन्छन् । प्रायः दलित बस्तीका विद्यार्थी आउने गरेका छन् ।’

प्रतिकृया दिनुहोस