किन पक्राउ परे संस्कृत विश्वविद्यालयका उपकूलपति विमानस्थलबाटै ?

Kulprasad  koirala

काठमाडौ‌ । क्यानडा जान हिंडेका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालालाई प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएको छ ।

उपकुलपति कोइरालालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार साँझ नियन्त्रणमा लिएको हो । कोइराला नेतृत्वमा सात सदस्यीय नेपाली टोली क्यानाडाको भ्यानकुभरमा आयोजना हुन लागेको विश्व संस्कृत सम्मेलनमा भाग लिन जान विमानस्थल पुगेको थियो ।

साँझ ८ बजेको उडानका लागि विमानस्थल प्रवेश गरी सामान जँचाउँदै गर्दा उपकुलपति कोइरालालाई डिआइजी कमलबहादुर जिटीले नियन्त्रणमा लिएर सीधै बालुवाटार पु-याएका थिए। उनलाई प्रधानमन्त्रीले भेट्न खोज्नुभएको छ भनेर बालुवाटार पुर्याइए पनि त्यहाँ प्रधानमन्त्रीसँग भेट गर्न भने दिइएन ।

आफूले विश्वविद्यालयको ऐनअनुसार बिदा स्वीकृतिका लागि सहकुलपति एवं शिक्षामन्त्रीमार्फत निवेदन दिए पनि विदेश जान रोक लगाइएकोमा उपकुलपति कोइरालाले आपत्ति जनाए । उनले संस्कृत विषयको प्रवद्र्धन कार्यक्रममा जान रोक लगाएर सरकारले संस्कृत भाषालाई सिध्याउन खोजेको आरोप लगाए ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले प्रधानमन्त्रीले केही कुरा बुझ्न उपकुलपति कोइरालालाई फिर्ता बोलाइएको बताए। टोलीका अन्य ६ सदस्य नेसंवि अनुसन्धान केन्द्रका निर्देशक काशीनाथ न्यौपाने, सहप्राध्यापक नवराज कट्टेल, वाल्मीकि विद्यापीठका प्रमुख गणेश घिमिरे, सहप्रध्यापक लेखप्रसाद निरौला, उपप्रध्यापक प्रेमराज न्यौपाने र उपप्रध्यापक केशव कोइराला भने क्यानडा गएका छन्।

संस्कृत विश्वविद्यालय ऐनमा उपकुलपतिले देश छाड्नुपरेमा एक साताअघि कुलपतिलाई जानकारी गराउनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार आफूले ११ दिनअघि बिदा स्वीकृतिका लागि निवदेन दिएको कोइरालाले बताए ।

शिक्षामन्त्रीका स्वकीय सचिव पूरण केसीले उपकुलपति कोइरालाले बिदाको निवेदन शुक्रबारमात्र मन्त्रालयको कर्मचारीको टेबुलमा छाडेर गएको जानकारी दिँदै भ्रमण खर्च पनि पारित नभएको बताए । उनले उपकुलपति कोइराला प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसँग कुनै छलफल नगरी क्यानडा जान लागेकाले फिर्ता गरिएको बताए ।

 

प्रतिकृया दिनुहोस