एयर इन्डियाको जहाज दुर्घटनामा कम्तीमा १३३ जनाको मृत्यु (यात्रुहरुको नामसहित)

काठमाडौं । एयर इन्डियाको जहाज दुर्घटनामा कम्तीमा १३३ जनाको मृत्यु भएको छ । अस्पताल स्रोतलाई उद्धृत गर्दै न्युज १८ ले कम्तीमा १३३ जनाको मृत्यु भएको जानकारी दिएको छ । मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
अहमदाबादबाट लन्डनका लागि उडान भरेको एयर इन्डियाको एआई-१७१ उडान, बोइङ ७८७-८ ड्रीमलाइनर बिहीबार दिउँसो अहमदाबाद विमानस्थल नजिकै दुर्घटना भएको हो ।
विमान उडेको केही समयपछि दिउँसो १स्३८ बजे दुर्घटना भएको हो । प्रारम्भिक जानकारी अनुसार उडान भरेको दुई मिनेटभित्रै विमानको पछाडिको भाग रूखमा ठोक्किएको थियो । जसका कारण विमान एक भवनमा ठोक्किएको थियो ।
भारतको गुजरातस्थित अहमदाबादबाट लन्डनका लागि उडेको एआई१७१ फ्लाट नम्बरको जहाज केही मिनेटमै दुर्घटना भएको थियो । उक्त जहाज अहमदाबादको मेघानीनगरस्थित बस्तीमा खसेको थियो । डाक्टर बस्ने होस्टेलमै जहाज खसेको त्यहाँका अधिकारीहरूले बताएका छन् ।
जहाजमा क्याबिन क्रुसहित २४२ जना सवार रहेको एयर इन्डियाले एक्समार्फत जानकारी दिएको छ । जसमध्ये २ जना पाइलट, १० जना क्याबिन क्रु सदस्य र २३० यात्रु रहेका थिए । जसमध्ये १६९ जना भारतीय यात्रु रहेका छन् । त्यस्तै बेलायतका ५३ जना, पोर्चुगलका ७ जना र क्यानडाका १ यात्रु रहेको एयर इन्डियाले जनाएको छ ।
विमानमा गुजराजका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि सवार रहेको बताइएको छ । घाइतेहरूको तत्काल उद्धार गरी नजिकैको अस्पताल पुर्याइएको थियो ।
प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले घटनाले आफूलाई स्तब्ध बनाएको र घटना सम्बन्धमा मन्त्री र सरोकारवालाहरूसँग निरन्तर सम्पर्कमा रहेको उल्लेख गरेका छन् ।
प्रतिकृया दिनुहोस