धनकुटामा देखियो पशुमा लाग्ने लम्पी स्किन रोगको संक्रमण

धनकुटा । दुई वर्षअघि देशभर गाईभैंसीमा महामारीझैं फैलिएको लम्पी स्किन रोग अहिले फेरि धनकुटामा देखिएको छ ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाका अनुसार धनकुटा नगरपालिका वडा नं. ६ र १० मा गरी दुई स्थानमा लम्पी स्किन देखा परेको हो । केही दिनअघि मात्रै धनकुटा नगरपालिका वडा नं. ६ पात्लेखोलाका डिल्लीराम राईको गाई र वडा नं. १० का दुर्गा अधिकारीको गाईमा लम्पी स्किन देखा परेको हो ।
दुवै स्थानमा सो रोग देखा परेसँगै भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाले थप संक्रमण हन नदिनका लागि तुरुन्तै खोप लगाएको छ । डिल्लीराम राईले गाई बिरामी भएर पशु स्वास्थ्यकर्मीलाई खवर गर्दा लम्पी स्किन देखिएको र खोल लगाइसकिएको बताउनु भयो ।
प्रारम्भिक अध्ययनमा खोप नलगाइएका गाइभैंसीमा रोग देखिने गरेको छ । अहिले पनि धनकुटामा लम्पी स्किन रोगको संक्रमण फैलिने देखेर कार्यालयले बेलैमा भाइजर खोप ल्याएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले अहिले धनकुटामा झण्डै १० हजार भाइजर ल्याएको पशु विकास अधिकृत तथा सुचना अधिकारी दिनेश कार्कीले बताउनु भयो ।
‘किसानहरुले आफ्ना पशु विरामी भए मात्रै भाइवर खोप लगाउने होइन, पहिले नै पशु चौपायको ख्याल गर्ने हो भने लम्पी स्किन लाग्नबाट बचाउन सकिन्छ’ कार्कीले भन्नुभयो, ‘अहिले हामीसँग १० हजार भाइजर खोप आइसकेको छ । किसानलले चाहे जनसुकै बेला पनि लगाउन सक्नुहुन्छ ।’
नेपालमा पहिलो पटक २०७७ असारमा लम्पी स्किन देखिएको थियो । धनकुटामा दुई वर्ष अघि १५ हजार ४०६ वटा पशुमा लम्पी स्किन देखिएको थियो ।
२०७७ र २०७८ मा १६ जिल्लाका २९ पालिकामा फैलिएको रोगबाट ३ हजार ३ सय १ पशु संक्रमित भएका थिए भने १३ पशु मरेका थिए । त्यसैगरी अघिल्लो वर्ष सबै जिल्लामा लम्पी स्किन फैलिँदा ६५ हजार ४ सय ४१ पशु मरेका थिए । यो वर्ष पनि बेलैमा पशुहरुलाई भाइजर खोप नहान्ने हो भने फेरि माहामारी कै रुप लिन सक्ने आशंका गरिएको छ ।
लम्पी स्किन रोग लामखुट्टे, किर्ना र भुसुना जस्ता कीराहरुले यो रोगको बिषाणु रोगी पशुबाट स्वस्थ पशुमा सार्ने गर्छन् । यसको अलावा रोगी पशुहरुको सिंगान, दूध र घाउबाट निस्केको पीप, रगत, जस्ता जैविक रसहरुको प्रत्यक्ष संसर्गबाट पनि यो रोग सर्न सक्छ ।
यो रोगका लक्षणहरु साधारण र हल्का रुपका देखि निकै कडा खालको पनि देखिन सक्छ । साना पशुहरुमा यो रोग कडारुपमा लाग्छ भने वयस्क पशुहरुमा साधारण लक्षणहरु देखिन सक्छ । लम्पि स्किन रोग लाग्दा रोगी पशुहरुमा ज्वरो आउने, अरुचि हुने र झोक्राउने जस्ता लक्षण देखिन्छन् । त्यसको २–३ दिनमा पशुको शरीरभरि नै, छालामा गिर्खा र गाँठाहरू देखिन शुरु गर्छ ।
यस्ता गिर्खा र गाँठाहरूमा पिप जम्मा भई यो घाउमा परिणत हुन्छ र यसमा जिवाणुजन्य संक्रमण भई समस्या झन् बढ्दै जाने भएकाले तुरुन्तै नजिकका पशु सेवा विज्ञ केन्द्रमा सम्पर्क गर्नुपर्ने पशु विकास अधिकृत तथा सुचना अधिकारी दिनेश कार्कीको भनाई छ ।
प्रतिकृया दिनुहोस