शिक्षक सेवा आयोगको माग करिब १३ हजार, आवेदन २ लाख २५ हजार

Studyes line

काठमाडौं । शिक्षक सेवा आयोगले करिब १३ हजार शिक्षकको माग गरेकोमा २ लाख २५ हजारभन्दा बढी आवेदन परेको छ ।

आयोगले झण्डै ६ वर्षपछि खुल्ला प्रतियोगिताबाट पदपूर्तिको तयारी गरेको हो । आयोगले संविधानमा भएको व्यवस्थाअनुसार ७५ प्रतिशत आन्तरिकको पदपूर्तिको परीक्षा गत असार अन्तिम साता लिइसकेको छ भने बाँकी २५ प्रतिशतको खुल्लातर्फ आवेदन गर्न साउन पहिलो सातासम्म समय दिएको थियो ।

प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका गरी १२ हजार ७ सय ३९ दरबन्दीमा पदपूर्ती गर्न लागेको हो । आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपरियाका अनुसार २ लाख २५ हजारभन्दा बढीले आवेदन गरेको प्रारम्भिक अनुमान रहेको छ ।

‘विद्यमान कानुनी संरचनाका आधारमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक शिक्षकका लागि विज्ञापन गरिएको हो,’ उत्साहजनक सहभागिता देखिएको छ । उनले थपे, ‘प्राथमिक तहको हकमा ६ वर्षपछि र निमावि तथा माविको ३ वर्षपछि खुल्ला विज्ञापन गरिएको हो ।’ आयोग अन्तर्गत १ लाख ७ हजार शिक्षक दरबन्दी रहेको छ ।
आगामी असोज ११ गतेबाट ३ दिनसम्म हुने परीक्षामा प्राथमिक तहको रिक्त दरबन्दी ९ हजार ९ सय ९६ रहेको छ । त्यसैगरी निमावि तहमा १ हजार ६ सय ३५ र मावि तहका १ हजार १ सय ८ जना पद खाली छन् । शिक्षा शास्त्र विषय पढेर शिक्षण अध्यापन अनुमतिपत्र (लाइसेन्स) प्राप्त व्यक्तिले प्रतिस्पर्धा गर्न पाउँछन् । आयोगको तथ्यांकअनुसार कार्यरतसहित ७ लाख जनाले लाइसेन्स प्राप्त गरेका छन् ।

आयोगले अस्थायी शिक्षकलाई आन्तरिक खुल्ला पदपूर्ति गर्नका लागि परीक्षा गत असार २९ र ३० गते लिएको थियो । उक्त परीक्षा ४ पटकसम्म रोकिएको थियो । करिब २५ हजार रिक्त दरबन्दी मध्ये २२ हजार ७६ शिक्षकले परीक्षा दिएका छन् । धेरैपटक परीक्षा स्थगित भएकाले सबै तहमा परीक्षार्थी संख्या पुग्न नसकेको आयोगले जनाएको छ ।

‘पद रिक्त भएपनि माग अनुसारको प्रतिस्पर्धीको आवेदन परेन,’ आयोगका प्रशासकीय प्रमुख थपलियाले भने, ‘हामीले तिनै कोटासमेत खुल्लामा परिणत गरेका छौं ।’

‘अबको १ वर्षभित्र कुनै पनि अस्थायी शिक्षक रहने छैनन्,’ थपलियाले भने, ‘कार्यतालिकाअनुसार फागुन–चैतमा विज्ञापन हुनेछ । हरेक ६ महिनामा रिक्त दरबन्दीमा पदपूर्ति गरिने छ । वार्षिक ३ हजार जनाको रिक्त पदपूर्ति हुनेछ ।’ शिक्षकको परीक्षा प्राथमिक तहमा कुनै विषय नतोकिने र निमाविदेखि विषय तोकेर परीक्षा लिइने भएकाले समस्या नआउने उनको दावी छ ।

 

प्रतिकृया दिनुहोस