मन्त्री दावा दोर्जे लामाले लिए दुई चेपाङ विद्यार्थीका जिम्मा

Lama

चितवन । प्रदेश नम्बर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा दुई विद्यार्थीका अभिभावक बनेका छन् । उनले सोमवार चितवनका दुईजना चेपाङ विद्यार्थीहरूको अभिभावकत्व ग्रहण गर्दै उनीहरूलाई राप्ती नगरपालिका १० को सोमिटार माविमा भर्ना गरिदिएका हुन् ।

राप्ती नगरपालिका १० कावरकी ६ वर्षकी निशा प्रजा र सोही ठाँउका ५ वर्षका सुजन प्रजालाई कक्षा १ मा मन्त्री लामाले भर्ना गरिदिएका छन् । उनले ती विद्यार्थीहरूको अभिभावकत्व ग्रहण गर्दै विद्यालय पोशाक, पाठ्यपुस्तक समेत उपलव्ध गराएका छन् ।

निशा र सुजन अति विपन्न चेपाङ परिवारका बालबालिका हुन् । उनिहरुका अभिभावकले दैनिक ज्यालादारी काम गरेर घरखर्च चलाउने गरेका छन् ।

सरकारको भर्ना अभियान अन्तर्गत दुईजना विद्यार्थीलाई विद्यालयमा भर्ना गराउनुका साथै उनिहरुको अभिभाकत्व ग्रहण गरेको मन्त्री लामाले बताए । दुई चेपाङ विद्यार्थीहरूलाई स्कूलमा लाग्ने सम्पूर्ण खर्च आफूले व्यहोर्ने मन्त्री लामाले जानकारी दिए ।

शिक्षा मन्त्रालयले ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाइमा स्थायित्व’ भन्ने नाराका साथ नयाँ भर्ना अभियान सञ्चालन गरिरहेको छ । सोमिटार माविमा आधिकांस चेपाङ र तामाङ समुदायका बालबालिका अध्ययन गर्दै आइरहेका छन् ।

प्रतिकृया दिनुहोस