यस्तो छ बिडम्बना, सरकारी विद्यालय गाभिने, नीजि चाँही थपिने !

Sarkari school

काठमाडौं । यतिवेला विभिन्न व्यक्तिहरुले विद्यार्थी जिम्मा लिएर अभिभावकत्व ग्रहण गरिरहेका छन् । तर, सरकारी विद्यालयको अवस्था वेहाल भएको कसैले ख्याल गरेका छैनन् ।

नीजि विद्यालयमा विद्यार्थीको चाप थेग्न गाह्रो छ । तर, सरकारी विद्यालयलाई भने विद्यार्थी पाउनै मुस्किल परेको छ । यो अवस्थामा सरकारी विद्यालयमा भइरहेको विद्यार्थीको संख्या बढाउन कसैले ध्यान दिएका छैनन् । जसको कारण सरकारी विद्यालय गाभिन बाध्य छन् ।
विद्यार्थी अभावकै कारण पछिल्ला ३ वर्षमा विद्यार्थी संख्या न्यून भएका झण्डै ७ सयभन्दा बढी सामुदायीक विद्यालय एक आपसमा गाभिएका छन् । हाल नेपालमा ३४ हजार बढी सामुदायिक विद्यालयहरु छन् ।

पछिल्ला तीन वर्षको तथ्यांकलाई हेर्दा सन् २०१४/१५ मा ४ सय १७, सन् २०१५/१६ मा १ सय ४८ र सन् २०१६/१७ मा १ सय ५९ गरी ७ सय २४ वटा विद्यालय गाभिएका छन् । अझैं गोरखा र कास्ककिा केही विद्यालय गाभिने तरखरमा छन् ।

सरकारी तथ्यांकले पनि अझैं देशभर प्राथमिक तहका विद्यार्थीको ठूलो हिस्सा सामुदायिक विद्यालयमै अध्ययन गर्ने गरेको देखाउँछ । तर, पछिल्ला केही वर्ष यता सरकारी विद्यालयमा विद्यार्थी भर्ना दर क्रमस घट्दै गएको छ भने नीजि विद्यालयहरुमा विद्यार्थी भर्ना दर बढ्दै गएको छ ।

कतिपय सरकारी विद्यालयमा शिक्षाको गुणस्तर कमजोर भएकै कारण सरकारी विद्यालयमा पढाई राम्रो हुँदैन भन्ने छ । विज्ञहरुले सार्वजनिक शिक्षाको गुणस्तर बढाउन सकिए मात्र बहुसंख्यक त्यस्ता विद्यार्थीलाई सामुदायिक विद्यालयमा राखिरहन सकिने बताउँछन् ।

सामुदायीक विद्यालय विद्यार्थीको अभावमा गाभिने र नीजिमा चाप बढ्ने अवस्था रहे सरकारी विद्यालयमा विद्यार्थी नहुने अवस्था आउन सक्छ । यस्तो अवस्था रोक्न प्रदेश सरकारले महत्वपूर्ण नीति बनाउनुपर्ने बताउँछन् शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्साल ।

‘अब सामुदायिक विद्यालयहरुको औचित्यपूर्ण वितरण गर्नुपर्छ र त्यसमा न्यूनतम मापदण्ड बमोजिमका सेवा सुविधा पुर्याउनुपर्छ’ लम्साल भन्छन्, ‘शिक्षक र प्राध्यानाध्यापकहरुलाई पनि गुणस्तर सुधार्नमा जिम्मेवार बनाउन सक्नुपर्छ ।’

के कारण घट्छन् विद्यार्थी ?
पछिल्ला केही वर्षहरुमा काठमाडौं लगायत देशभरका सामुदायीक विद्यालयहरुमा विद्यार्थीको संख्या घट्दै गएको छ ।

कुनैबेला विद्यार्थीले भरिभराउ हुने सरकारी विद्यालय वरपरका निजी विद्यालयमा विद्यार्थी भरिभराउ भइरहँदा खाली हुन थालेका छन् । घर नजिकै भएका सरकारी विद्यालय छाडेर बरु घण्टौ लाग्ने नीजि विद्यालयमा आफ्ना बालबच्चा पढाउन तयार छनर अभिभावक पनि । आखिर किन त ? अधिकांसको उत्तर आउँछ सरकारी विद्यालयमा पढाई नै राम्रो हुँदैन ।

सरकार र शिक्षा मनत्रालयले नै निजी विद्यालयप्रति अभिभावकको आकर्षण बढ्दा सामुदायिक विद्यालयमा विद्यार्थीको संख्यामा किन कमि आयो भनेर खोजी गरेको पाइदैन । बरु आफ्ना छोराछोरीलाई सुविधासम्पन्न नीजि विद्यालयमा भर्ना गर्न हानथाप गर्ने गरेको पाइन्छ ।

यसका विभिन्न कारणहरु छन् । सरकारी विद्यालयका शिक्षकहरु बारम्बार राजनीति झण्डा बोकेर हिड्ने गरेका छन् । जसका कारण उनीहरुको ध्यान पढाईमा भन्दा पनि राजनीतितिर केन्द्रित हुन्छ ।

अर्काे कारण भनेको अंग्रेजी भाषा नै हो । पछिल्ला दिनमा सरकारी विद्यालयहरुले पनि अंग्रेजी भाषालाई प्राथमिकता दिन थालेका छन् । तर, नीजि विद्यालयको जस्तो बनाउन नसक्दा सरकारी विद्यालयमा अंग्रेजी भाषा जति नै राम्रो पढाइने भए पनि अभिभावकको ध्यान जान सकेको पाइदैन ।

खासगरी सरकारी विद्यालयमा शिक्षकहरुको लापरवाही नै विद्यार्थी कम हुने देखिएको छ । उनीहरुको चाल ‘सरकारी काम, कहिले जाला घाम’ भनेझै हुने भएकाले पनि सरकारी विद्यालयमा शिक्षाको गुणस्तर खस्किँदै पाइन्छ । यस्तो अवस्थामा निजीको तुलनामा सरकारी विद्यालयको पुर्वाधार राम्रो बनाउँदै लानुपर्ने र शिक्षा पद्धतिमै सुधार गरिनुपर्ने विज्ञहरुको सुझाव छ ।

प्रतिकृया दिनुहोस