पीडित विद्यार्थीले बनाए भूकम्पको वास्तविक चित्र

Student1

काठमाडौँ । भूकम्पबाट पुग्न गएको क्षतिको सम्झना गर्दै विद्यालय पढ्ने बालबालिकाले चित्रमा उतारेका छन् । चित्रमा भूकम्पका समयमा भएका विविध घटनालाई सम्झना गर्दै बालबालिकाले चित्रमार्फत प्रस्तुत गरेका हुन् ।

“भूकम्पमा बालबालिकालाई बढी क्षति भएको ठानेर नै आफूले भोगेका कुरालाई चित्रमा उतारेकी हुँ ।” धादिङकी कक्षा– ९ मा अध्ययनरत विमला तामाङले भनिन, “चित्र बनाइसकेपछि मनमा भएको डर केही हदसम्म हराएको थियो ।” भूकम्पपछि मानिसमा मेलमिलापको भावना पाएको र त्यसलाई आफूले चित्रमा उतारेको उनले बताए ।

चित्रकलामा सहभागी अर्की रामेछापकी छात्रा रञ्जु तामाङले आफूले भोगेको कुरालाई चित्रमा उतार्न सजिलो भएको बताइन ।

चित्र–संग्रहमा विद्यालय विद्यार्थीले भूकम्पमा भएका क्षति, विभिन्न दातृृ निकायले गरेको सहयोगको प्रतिविम्ब, भूकम्पपीडितले टहरामा जीवन बिताउदाको दुःखकष्टलगायत पुनःनिर्माणका गतिविधिलगायत सुन्दर नेपालको परिकल्पना चित्रमार्फत व्यक्त गरेका छन् ।

“इन्डुरेड इन्टरनेसनल” नामक संस्थाको सहयोगमा भूकम्प प्रभावित १२ वटा जिल्लाका बालबालिकालाई चित्रकलामा सहभागी गराइएको थियो । बालबालिकालाई भूकम्पसम्बन्धी गतिविधिमा सहभागी गराउनुपर्छ भन्ने उद्देश्यका साथ चित्रकला प्रतियोगितामा सहभागी गराइएको इन्टरनेशनलका प्रमुख डा गोपालकृष्ण सिवाकोटीले बताए ।

“भूकम्पका बेला बालबालिकामा ठूलो त्रास बनाएको थियो । त्यसले उनीहरुमा बनाएको प्रतिविम्बलाई उतार्न सक्छन् भनेर नै सहभागी गराएका हौं ।” सिवाकोटीले बताए ।

काठमाडौँमा चित्र–संग्रह लोकापर्ण कार्यक्रमको आयोजना गरी इन्टरनेशनलले पुस्तकका रुपमा विमोचन गरेको थियो । आज आयोजित कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले चित्रमा विद्यार्थीले बनाएको चित्रको खुलेर प्रशंसा गरिन ।

“बालबालिकाले आफ्नो भनाइ राख्न नसके पनि चित्रले दिएको सन्देशअनुरुप देशको निर्माण गर्न सके देश साँच्चै सुन्दर बन्ने थियो” उनले भनिन । चित्रले अहिलेसम्मकै नयाँ सन्देश दिन खोजेको उनले बताइन ।

प्रतिकृया दिनुहोस