विद्यालयमै खाना कार्यक्रमले बढायो विद्यार्थीमा आकर्षण

School tfn

रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–६ का बलबहादुर कुसारीका ८ वर्षीय छोरा रमेश कुसारी गाउँनजिकैको शान्ति आधारभूत विद्यालयमा कक्षा ३ मा पढ्दै छन् । उनी गत कात्तिकसम्म विद्यालय गएको केही घण्टापछि दिउँसो १ बजेपछि घर फर्केर आउने गर्थे ।

तर माघ महिना शुरु भएदेखि उनी हरेक दिन विद्यालय जाने समय १० बजे भन्दा एक घण्टा पहिले नै विद्यालय जान हतार गरिहाल्छन् । विद्यालयमा जाँदा उनले कापी, किताब, कमलका साथै एउटा स्टिलको थाली पनि नछोएर लिने गरेका छन् ।

बिहान ९ः३० बजे विद्यालय गएका रमेश साँझ ४ः३० बजेमात्र घर फर्कन्छन् । उनी जस्तै त्यही विद्यालयमा कक्षा ५ मा पढ्ने पूजा केसीको पनि कात्तिकसम्म त्यस्तै समस्या थियो । तर अहिले उनी पनि ४ बजेपछि मात्र घर फर्कन्छिन् ।

रमेश र पूजामात्र होइन अहिले यहाँका आधारभूत विद्यालयमा अध्ययन गर्ने सबै बालबालिका यसरी अन्तिम समयसम्म विद्यालयमा बस्ने गरेका छन् । विद्यालयमा विद्यार्थीलाई दिवा खाजाका रुपमा दालभात खुवाउन शुरु गरेपछि यहाँका विद्यार्थी दिउँसो विद्यालयबाट भाग्ने समस्या हटेको छ ।

यो महिनादेखि विद्यार्थीलाई दिवा खाजाका रुपमा दालभात खुवाउन थालिएपछि विद्यार्थी दिउँसो भाग्ने समस्या अन्त्य भएको शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक कमलजङ्ग खनालले बताए ।

यसअघि उनीहरूलाई दिवा खाजाका रूपमा हलुवा खुवाउने गरिएको भए पनि त्यो विद्यार्थीले राम्रो नमानेर नखाई घर फर्कने गरेका थिए भने अहिले साँझ ४ बजेसम्म पठनपाठनमा सक्रिय सहभागी हुने गरेको उनले बताए ।

संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमको सहयोगमा २०५२ सालदेखि यहाँका साविकका २४ गाविसमा रहेका १६८ विद्यालयमा शिक्षाका लागि खाद्य परियोजना सञ्चालन भइरहेको छ । परियोजनाले गत मंसिरसम्म हलुवाका लागि पिठो, तेल र चिनी उपलब्ध गराउँदै आएको भए पनि माघदेखि भिटामिन र मिनरल्स मिसाइएको चामल, दाल, तेल र नून उपलब्ध गराउन थालेको छ ।

दिवा खाजा कार्यक्रम सञ्चालन भइरहेका विद्यालयमा हलुवाको साटो सामान्य दालभात, पोसिलो जाउलो दिन थालिएको छ । विद्यार्थीले हलुवा मन नपराएपछि दालभातको व्यवस्था गरिएको परियोजनाले जानकारी दिएको छ ।

कतिपय विद्यालयमा हलुवा बनाउन नजान्ने, पिठोमा भिटामिनको मात्रा नमिल्दा खाँदा तितो हुने, जम्मा गरेर राखिएको पिठो बिग्रनेलगायतका समस्या देखिएपछि कार्यक्रमको ढाँचा फेरेर दालभात खुवाउन शुरु गरेको जिल्ला शिक्षा अधिकारी कर्णबहादुर कुँवरले जानकारी दिए ।

साथै विद्यार्थीको इच्छाअनुसार स्थानीयस्तरमा उत्पादित तरकारीसमेत थप गरेर पकाउन सकिने व्यवस्था मिलाइएको बताएको छ । भिटामिन, मिनरलसहित मिलाएर अमेरिकामा तयार पारिएको चामल यहाँ पठाइएको बताएको छ । चामल, दाल, तेल, नूनका साथै विद्यालयमा खाना तयार गर्नका लागि आवश्यक अन्य भाँडाकुँडासमेत उपलब्ध गराएको छ ।

जिल्लाका १६८ विद्यालयमा अध्ययन गर्ने २० हजार १०० भन्दा बढी विद्यार्थीलाई दैनिक रुपमा दिवा खाजका रुपमा खिचडी बनाएर खुवाउने गरिएको छ ।

दिवा खाजा कार्यक्रम सञ्चालन भएका विद्यालयमा विद्यार्थी उपस्थिति दर बढेको, कक्षा छाड्ने दर घटेको र शिक्षाको गुणस्तरमा समेत सुधार आउनाका साथै बालबालिकाको पोषणमा समेत सुधार आएको उनको दाबी छ । हलुवा हटाएर दालभात खुवाउन शुरु गरेपछि विद्यार्थीका साथै अभिभावक पनि निकै खुशी देखिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...