डोटीमा पहिलो पटक आयोजना गरियो शिक्षा सम्मेलन

Doti 4

डोटी । जीवनपर्यन्त शिक्षा आजको आवश्यकता, विद्यालय शिक्षा गुणस्तरमा हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ डोटीमा जिल्ला शिक्षा सम्मेलन सम्पन्न भएको छ । वर्तमान संरचनामा विद्यालय शिक्षाको व्यबस्थापन र गुणस्तरिय सुधार बिषयक जिल्ला शिक्षा सम्मेलन गरिएको हो ।

जिल्ला समन्वय समितिका संयोजक राम बहादुर ऐरको प्रमुख अतिथी र नेपाल शिक्षक महासंघ डोटीका अध्यक्ष खडक बहादुर खड्काको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा विशिष्ट अतिथी रुपमा शिखर नगरपालिकाका प्रमुख सिताराम जोशी रहेका थिए । अन्य अतिथिहरुमा दिपायल सिलगढी नगरपालिकाका उपप्रमुख शिवराज खड्का, जिल्ला शिक्षा अधिकारी अनन्तकुमार पौड्याल,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मिन बम, ७ वटै गाउँपालिकाका अध्यक्षहरु, शिक्षक संघ,संगठन, डोटी बहुमखी क्याम्पस, पत्रकार महासंघ डोटी, गै।स।स।महासंघ डोटी, जिल्लामा क्रियाशिल गैरसरकारी संस्थाहरु,पत्रकार, बिभिन्न विद्यालयका बिद्यालय व्यबस्थापन समितिका पदाधिकारी, शिक्षासरोकार समुह, आमासमुह लगायतको उपस्थिती रहेको थियो । सम्मेलनमा एक सय ३५ जनाको सहभागीता रहेको थियो ।

सार्वजनिक विद्यालय व्यबस्थापन र गुणस्तरिय शिक्षा प्रवद्र्धनका लागी जिल्ला स्तरिय पहिलो पटक आयोजना गरिएको सम्मेलनमा बौद्धिक ब्यक्तित्वहरुबीच बहस कार्यक्रम गरिएको थियो । बहसमा जिल्ला शिक्षा अधिकारी अनन्तकुमार पौड्याल, पत्रकार रामहरी ओझा, शिक्षक देव बहादुर बोहरा र डोटी बहुमखी क्याम्पस उपप्राध्यापक तिर्थराज जोशी रहेका थिए ।

बहसमा सार्वजजिक विद्यालयमा देखिएका समस्या र समाधानका लागि वर्तमान संरचनामा सार्वजनिक विद्यालयको उचित व्यबस्थापन र गुणस्तरिय सिकाई प्रवद्र्धन गर्न सकिने बारे छलफल गरिएको थियो । बहसको निश्कर्षको रुपमा शिक्षक, अभिभावक, स्थानिय तहका जनतिनिधिहरु, जिल्ला शिक्षा कार्यालय लगायतको भूमिका र जिम्मेवारीलाई प्रमुख विषयका रुपमा औल्याउदै आधार पत्र प्रस्तुत गरिएको थियो ।

डोटी जिल्लाको हालको शिक्षा क्षेत्रलाई सुधार गर्नमा मुख्य गरि शिक्षक, विद्यालय व्यबस्थापन समिति, अभिभावकको सकारात्मक सम्बन्धले मात्र विद्यालय सुधार हुने र राज्यले शिक्षामा लगानी बढाउदै लग्नु पर्ने । शिक्षालाई अधिकार संगै कर्तव्यका रुपमा पनि विकास गर्न नैतिक शिक्षालाई प्रवद्र्धन गर्दै लैजानु पर्ने विषयमा वहश छलफल भएको थियो ।

त्यसै गरि विद्यालय सुधारका लागी अभिभावकहरुको विश्वासलाई बढाउन शिक्षक ईमान्दार भई आफनो पेशा प्रति जिम्मेवार हुनु पर्ने, नियमनकारी निकायले निरन्तर अनुगमन गर्नु पर्ने,आस्थाका आधारमा शिक्षकको वितरण, स्रोतको परिचालन गर्ने प्रवृत्तिको अन्त्य गर्न स्थानिय जनप्रतिनिधिहरु प्रतिबद्ध हुनु पर्ने लगाएतका छन् ।

त्यसैगरी शिक्षक र विद्यालयको निरन्तर अनुगमन गरि पृष्ठपोषण गर्न स्थानिय तह लाग्नु पर्ने । अभिभावक शिक्षालाई प्रभावकारी बनाउदै बालकेन्द्रीत सिकाई, विद्यालयको सुशासन प्रवद्र्धनमा ध्यान दिई विद्यालय प्रति अभिभावकहरुलाई आकर्षण गर्नु पर्ने बारेमा सम्मेलनका प्रतिनिधिहरुले जोड दिएका थिए ।

विद्यालय शिक्षाको व्यबस्थापन र गुणस्तरिय शिक्षा प्रवद्र्धनका लागी सरोकारवालाहरुको भुमिकालाई प्रभावकारी वनाउन निश्कर्ष निकालिएको छ । जिल्लाको शिक्षा क्षेत्रलाई सुधार गरि विद्यालय वाहिर रहेका उमेर समुहका बालबालिकाहरुलाई विद्यालय ल्याउन, उनिहरुको निरन्तरताका लागी शिक्षक र अभिभावकहरुको महत्वपुर्ण भुमिका रहने भएकाले विद्यालयको बाताबरण, शिक्षण सिकाई कक्षाकोठा व्यबस्थापन, पिउने पानी, शौचालय, आवश्यक शैक्षिक सामग्री, लगायतका आधारभुत कुराहरुलाई ध्यानमा राखी विद्यालयको सुधार योजनालाई सहभागीमुलक र दिशा निर्देश बनाउनु पर्ने विषयमा छलफल भएको थियो । कार्यक्रममा सहभागी प्रमुख अतिथी, विशिष्ट अतिथी तथा स्थानिय तहका प्रमुखहरुले आगामी दिनमा विद्यालयको योजना अनुसार लगानी वढाउने र निरन्तर अनुगमन गरि विद्यालय सुधारमा जोड दिने प्रतिबद्धता जनाएका छन् ।

नेपाल शिक्षक महासंघ डोटीका सचिव गणेश कठायत कार्यक्रमको संचालन गरेका थिए भने महासंघका सहअध्यक्ष बल बहादुर विष्टले स्वागत मन्तब्य राखेका थिए । एक्शनएड नेपालसंगको साझेदारीमा संचालित गुणस्तरिय शिक्षा परियोजना संयोजक अधिराज बि.सी.ले जिल्ला शिक्षा सम्मेलनको उदेश्य र औचित्यका बारेमा जानकारी गराएका थिए । जिल्ला शिक्षा कार्यालय डोटीको समन्वयमा नेपाल शिक्षक महासंघ डोटीले आयोजना गरेको सम्मेलनमा सम विकास केन्द्र नेपालले सहयोग गरेको संस्थाका अध्यक्ष केशव परियारले बताए ।

प्रतिकृया दिनुहोस