सामुदायिक विद्यालयमा अभिभावकको आकर्षण

School

रोल्पा, । सामुदायिक विद्यालयमा अभिभावकको आकर्षण घट्दै गएको भनिए पनि रोल्पाको थवाङमा रहेको एक सामुदायिक विद्यालयमा भने स्थानीयवासीले गरेको विद्यालय सुधारका कारण अभिभावकको आकर्षण बढिरहेको छ ।

थवाङमा रहेको बलभद्र माध्यमिक विद्यालयलाई नमुना बनाउने भन्दै थालिएको अभियानले सार्थकता पाउन थालेसँगै अभिभावकमा आकर्षण थपिन थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय घर्तीमगरले बताए ।

यति बेला निजी विद्यालय छोडेर सामुदायिक विद्यालयमा आउनेको चाप बढ्दै गएका कारण भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापनमा लागेका घर्तीले बताए ।

विद्यालयमा हाल सरकारी दरबन्दीका रुपमा कक्षा १ देखि १२ सम्म २१ जना शिक्षक र ७५० बढी विद्यार्थी रहेका छन् । 

भवन निर्माणका लागि विभिन्न सङ्घसंस्थाले समेत सहयोग गरिरहेका छन् । सहयोगकै क्रममा नेपाली सेनाको खडक दल गणको एक सैनिक टोली थवाङमा रहेर निर्माण कार्यमा सहयोग गरिरहेको सैन्य स्रोतले बताएको छ ।

विद्यार्थीको चापसँगै भवन अपुग भएको भन्दै विद्यालयले नेपाली सेनालाई भवन निर्माणमा सहयोग गर्न अनुरोध गरेअनुसार हाल एक टोली थवाङमा पुगी विद्यालय भवन निर्माणमा सहयोग गरेको हो ।

विद्यालय व्यवस्थापन समितिले पछिल्लोपटक विद्यालयलाई नमुना बनाउने भन्दै थालेको अभियानस्वरुप शैक्षिक र भौतिक उपलब्धि देखिन थालेपछि अभिभावकसमेत सन्तुष्ट देखिन थालेको विद्यालयले बताएको छ ।



प्रतिकृया दिनुहोस