छात्रामैत्री विद्यालय बनाउने भरतपुर महानगरको प्रयास : पश्चिम चितवनका २९६ छात्रालाई साइकल हस्तान्तरण

Cycle main 20201109140506 tm0ehsk8bg

काठमाडौँ । पश्चिम चितवनका विभिन्न विद्यालयमा अध्यन गरिरहेका गरिब, विपन्न तथा  जेहेन्दार छात्राहरुलाई साइकल वितरण गरिएको छ ।

कक्षा ८ मा अध्ययनरत सन्ध्या बोटे साइकल पाएपछि खुसी छिन् । एक घन्टा समय लगाएर विद्यालय जानु परेकोमा अब भने साइकल चढेर १५ मिनेटमा नै विद्यालय पुग्न पाइने भएपछि उनी खुसी भएकी हुन् ।

यसरी विद्यार्थीलाई खुसी दिने काम भरतपुर महानगरपालिकाले गरेको हो । भरतपुर महानगरद्वारा सञ्चालित जोखिममा परेका महिलासँग मेयर कार्यक्रम अन्तर्गत विद्यालय शिक्षामा छात्राहरुको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीहरुलाई साइकल हस्तान्तरण गरिएको हो । 

सो अन्तर्गत सोमबार पश्चिम चितवनको ६ वटा वडाका १६२ जना छात्राहरुलाई वडा नम्बर २६ को उमाबडी शेरचन आदर्श कलेजमा कार्यक्रम गरी साइकल वितरण गरिएको महानगरले जनाएको छ । 
भतरपुरको वडा नम्बर १७, २४, २५, २६, २७ र २८ का ती १६२ जनालाई महानगर प्रमुख रेनु दाहालबाट साइकल वितरण गरिएको हो ।

भरतपुर महानगरपालिकाले पश्चिम चितवनका १३, १४, २२, २३, २४ वडाका १७ विद्यालयका १ सय ३५ जना विद्यार्थीलाई यसअघि नै साइकल वितरण गरेको थियो । हालसम्म महानगरले २९६ वटा साइकल वितरण गरेको छ । महानगरले १२ वटा वडाका कुल ३ सय ३० जना छात्रालाई साइकल वितरण गर्ने योजना बनाएको छ ।

कोभिडका कारण अघिल्लो आर्थिक वर्षमा साइकल हस्तान्तरण गर्न नसकिएकाले यसपटक साइकल हस्तान्तरण गरिएको महानगर प्रमुख रेनु दाहालले बताइन् । महानगर प्रमुख रेनु दाहालले महानगरका विद्यालयलाई छात्रामैत्री र प्रविधिमैत्री बनाउन लागिपरेको पनि बताइन् ।

महानगरका आधारभुत विद्यालयलाई ल्याप्टप वितरण गर्ने तयारी थालेको र सबै विद्यालयहरुमा इन्टरनेटको प्रबन्ध यही वर्षमा गरिने उनको भनाइ छ । महानगरभित्रका सरकारी विद्यालयहरुको शैक्षिक स्तर विकासका लागि भौतिक संरचना विकासमा धमाधम काम भइरहेको मेयर दाहालको भनाइ छ ।

महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले महानगरका विद्यालयहरुको शैक्षिकस्तरदेखि भौतिक सुधारमा महानगर निकै लागिपरेको र सरकारी विद्यालयहरुलाई विद्यार्थीको प्रमुख रोजाईको केन्द्रका रुपमा विकास गर्ने गरी महानगर प्रमुख लागेको बताए ।  

प्रतिकृया दिनुहोस