सौराहाका होटल बिहीबारदेखि खुल्ने

5f2e10d1dc32a 1596078146

काठमाडौँ । लकडाउन र निषेधाज्ञाका कारण बन्द रहेका सौराहाका होटल बिहीबारदेखि सञ्चालनमा आउने भएका छन् । सरकारले असोज १ गतेदेखि होटल खोल्न दिने निर्णय गरेसँगै यहाँका व्यवसायीले तयारी थालेका हुन ।

गत चैत ११ गतेदेखि बन्द भएका होटल साउन १५ गते खुलेका भए पनि सोही महिनाको २८ गतेदेखि पुनः बन्द भएका थिए । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार सरकारले होटल सञ्चालन गर्न दिने भएसँगै आजबाट तयारी थालिएको छ । कर्मचारी बोलाएर होटलहरुले सरसफाइसँगै आवश्यक व्यवस्थापन गर्न थालेको उनले जानकारी दिए ।

होटल मात्र खुलेर नहुने भएकाले पर्यटकीय गतिविधिका लागि चितवन राष्ट्रिय निकुञ्ज प्रशासनसँग अनुमतिका लागि अनुरोध गरिएको उनको भनाइ छ । दशैँको मुखमा होटल खुल्ने तर ग्राहक आएनन् भने थप व्ययभार हुने भएकाले थोरै कर्मचारी राखेर सेवा शुरु गर्ने तयारीमा व्यवसायी रहेका छन् । सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेले फेरि बन्द हुने भन्ने डरका कारण सीमित सेवा दिएर होटल खुल्ने जानकारी दिए । बिहीबारदेखि क्रमशः होटल खुल्दै जाने उनको अनुमान छ । सबै होटलका कर्मचारी बिदामा छन् ।

रेष्टूरेन्ट एण्ड बार एशोसिएशन (रेवान) सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहाका रेष्टुरेन्ट क्रमशः बिहीबारदेखि खुल्ने छन् । उनले भने “सेवा शुरु गछौं, क्रमशः थप रेष्टुरेन्ट खुल्दै जान्छन् ।” निकुञ्जले हात्ती, डुङ्गा, जीप सफारी, जङ्गल सफारीलगायतका पर्यटकीय गतिविधि सबै रोकेको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले होटल खुलेसँगै पर्यटकीय गतिविधिका लागि अनुमति दिन आवश्यक प्रक्रिया अघि बढाइने बताए । डुृङ्गाका लागि पहिलो पटकको बोलपत्रमा निवेदन नपरेको बताउँदै उनले पुनः बोलपत्र आह्वान गरिने जानकारी दिए । निकुञ्जभित्र जीप सफारीका लागि बाटो बनाउने काम भइरहेको उनको भनाइ छ । बरालले भने, “सबैतिर सहज हुँदै गर्दा निकुञ्जले पर्यटकीय गतिविधि रोक्दैन ।”

सौराहामा ११० होटल छन् । यसैगरी साना ठूला एक सय हाराहारीका रेष्टुरेन्ट छन् । सौराहामा होटलमा प्रत्यक्षरुपमा पाँच हजार ५०० भन्दा बढी कामदारले विभिन्न क्षेत्रमा रोजगारी पाएका छन् ।

प्रतिकृया दिनुहोस