पर्यटकको रोजाईमा खैरहनीको ट्रि टावर : नपुग्ने पछुताउँछन्, पुग्ने रमाउँछन्

रेड हिल पार्कको सम्बन्ध सीमा सुरक्षासँग जोडिएको छ

Tree tower madhi

चितवन (माढी) । माढी नगरपालिका वडा नं. ४ मा रहेको एउटा डाडा, जहाँका माटो अत्यन्तै रातो छ । अलिअलि पानी परेपछि चिप्लिएर हिड्न सक्ने अवस्था रहँदैन । गाउँलेहरुले यसलाई आक्कलझुक्कल रातोमाटे पनि भन्छन् ।

खैरहनीको दक्षिणतर्फको शीरमा रहेका यो डाँडा हेर्न पर्यटक आउँलान् भनेर कसैले कल्पनासमेत गरेका थिएनन् । तर, पछिल्ला तीन वर्ष यता माढीबासी र अन्यत्रका मानिसहरुका लागि पनि रोजाईको ठाउँ बन्न थालेको छ ।

चितवनको माढी क्षेत्रलाई पर्यटकीय क्षेत्रकै रुपमा लिइन्छ । अझ त्यसमा पनि खैरहनीको त्यो रातो डाँडामा बनाइएको ट्रि टावरले पर्यटकको मन सहजै जित्न थालेको छ । रोजाइ बन्न थालेको छ ।

पछिल्लो समय पर्यटकीय स्थलको रुपमा विकास हुँदै आएको चितवन जिल्लाको माढी नगरपालिका वडा नं. ४ मा रहेको रेड हिल पार्कमा झण्डै ९० मिटर अग्लो सखुवाको रुखमा टावर बनाइएको छ, जुन टावरले पर्यटनको मन तान्न थालेको छ । माढीको दक्षिणी क्षेत्रमा पर्ने खैरहनीमा निर्माणाधिन अवस्थामा रहेको रेड हिल पार्कसम्म पुग्ने बाटो धमाधम बन्दैछ भने भौतिक संरचनाहरु पनि धमाधम बनिरहेका छन् ।

रेड हिल पार्क नै बनी नसकेको भए पनि ट्रि टावर हेर्न आउनेको संख्या भने बढ्न थालेको स्थानीय मित्रमिलन सापकोटाले बताए । उनी हाल रेड हिल पार्क रुगालुका रुपमा त्यही बस्छन् ।

उनले पार्क बन्दै गरेको भए पनि पछिल्ला केही समययता पार्क हेर्न आउनेहरु बढ्दै गएको बताए । ‘यहाँ तल भानेश्वर सरको कृषी फर्म छ । त्यहाँ आउनेहरुलाई भानेश्वर सरले पनि पठाउनु हुन्छ । अनि रुखमै टावर बनेको छ भन्ने सुनेपछि माढी आउनेहरु पनि आउँछन्’ उनले भने, ‘अहिले पोखरा, बुटवल, नवलपरासी, वीरगञ्ज लगायतका ठाउँहरुबाट पार्क हेर्न आइसक्नु भएको छ ।’

एउटा रुखलाई असर नगरी बनाइएको यो टावर वातावरणमैत्री भएकोले पनि आकर्षणको केन्द्र बनेको छ । ट्रि टावरमा भेटिएकी पत्रकार रामकला खड्काले निक्कै खुसी देखिन्थिन् । उनी पहिलोपटक रेडहिल पार्क पुग्दा सो टावर चढिन् । उनी हर्षित भइन् ।

‘मलाई एकदमै राम्रो लाग्यो । किनकी यसको कन्सेप्ट पनि राम्रो छ’, उनले भनिन्, ‘एउटा रुखलाई जोगाउँदै टावर बनाउनु वातावरणीय हिसावले पनि राम्रो छ । किनकी यसअघि विभिन्न ठाउँहरुमा टावर बनाउँदा हामीले रुख काटेर, डाँडा सम्याएर टावर बनाइएको देखेका थियौं । तर, यहाँ त न रुख काटिएको छ, न डाँडा नै सम्याइएको छ ।’

काठमाडौंमा बसेर पत्रकारीता गर्दै आएकी खड्काले केही सुझावहरु पनि दिइन् । उनले भनिन्, ‘बालबालिकालाई पनि माथि टुप्पोमा जानसक्ने र बस्न सक्ने बनाउनुपर्छ । किनकी बालबच्चाले यसको महत्व थाहा पाए भने उनीहरु पनि वातावरणमैत्री बन्छन् ।’

अहिले यो टावर र रेड हिल पार्कलाई वडाले गौरवकै आयोजना रुपमा लिएको छ । यसको मुख्य कारण भनेको नजिकै छ भारतसँगको सीमाना । यहाँ टावर बनाउँदा र पार्क बनाउँदा मानिसहरुको आवातजावात पनि उत्तिकै भइरहन्छ । र, भारतीयहरुले नेपालको दक्षिणी सीमानामा थप आँखा गाड्न पाउँदैनन् । त्यही भएर पनि वडा नं. ४ का वडाध्यक्ष माधवप्रसाद चापागाईले यसलाई वडा कै गौरवको अयोगजनाको रुपमा विकास गर्न खोजेका छन् ।

‘यहाँ नजिकैको सीमाना जोगाउन पनि लड्नुपरेको छ । त्यति मात्रै होइन, माढी आउने आम नागरिकलाई रेड हिलपार्कसम्म पनि ल्याउनुपरेको छ’ वडाध्यक्ष चापागाईले भने, ‘यसलाई मैले वडाको गौरवको आयोजनाको बनाउन पालिकामा पनि आवाज उठाएको छु । निरन्तर रुपमा संघर्ष पनि गरिरहेको छु ।’

यो डाँडाबाट माढीका सुन्दर फाँटहरु देखिन्छन् । चारैतिर डाडैडाडा देखिन्छन् । उत्तरतर्फ सामान्य भिरालो रहेको माढीका फाँटहरु हेर्न यो रेडहिल पार्क उत्तम छ । यतिवेला प्रदेश सरकारको ३० लाख रुपैयाँ लगानीमा धमाधम पार्क बनिरहेको छ । पार्कसम्म पुग्ने कच्ची बाटो पुगिसकेको छ । पार्कभित्र सिडीहरु बनिरहेका छन् । जिपलाइनका लागि स्टेसन पनि बनिरहेको छ ।

उनले भनेजस्तै पानी ढलको आधारमा भारतसँगको सीमाना नजिकै छ । जुन ठाउँमा भारतीयहरु आइरहन्छन् । त्यही भएर पनि सीमा सुरक्षाको चिन्ता स्थानीयलाई छ । यदी साच्चै वडाको योजना अनुसार वडाको गौरवको आयोजना बनाउने हो भने ट्रि टावर हेर्न, रमाउन र वातावरणको अवलोकनका लागि मात्रै होइन, सीमा सुरक्षाको एउटा आधारभुमी पनि बन्न सक्छ ।

एक प्रकारले गर्मीमा पनि चिसो अनुभव यहाँ पुग्दा गर्न सकिन्छ । माढी घुम्न, पारिवारिक, व्यवसायीक वा कृषी अध्ययनका लागि माढी पुग्नेहरु रेड हिल पार्क नपुग्दा पछुताउँछन् । ट्रि टावर चढ्नेहरु रमाउँछन् । खुसी हुन्छन् ।

प्रतिकृया दिनुहोस