भुकम्प दिवसकै दिन सिन्धुपाल्चोकमा गयो ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । देशभरि भूकम्प स्मृति दिवस मनाइरहँदा सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस भएको छ । १० वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पको स्मृति गरिरहेका बेला सिन्धुपाल्चोकमा भूकम्प गएको हो ।
शुक्रबार बिहान ११ बजेर ५३ मिनेट जाँदा सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । आज बिहानको भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासका केही जिल्लामा पनि महसुस भएको थियो तर सो भूकम्पले क्षति पुगेको भने छैन ।
२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युडको भूकम्प जाँदा करिब ९ हजार मानिसको ज्यान गएको थियो । त्यतिबेला सिन्धुपाल्चोक सबैभन्दा बढी प्रभावित भएको थियो ।
पश्चिम नेपालमा पछिल्ला दिनमा साना प्रकृतिका भूकम्प लगातार गइरहेका छन् । विसं २०८० कात्तिक १७ गते जाजरकोटको बारेकोटलाई केन्द्रबिन्दु बनाएर छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि पनि लगातार जाजरकोटका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर भूकम्प गइरहेका छन् ।
प्रतिकृया दिनुहोस