रोमानिया जान नपाउँदा श्रृंखलाबद्ध चोरीमा संलग्न थिए धनकुटाका सोभित खड्का, धरानबाट यसरी समातिए

धनकुटा । केही समययता धनकुटामा श्रृंखलाबद्ध चोरकिा घटना बढ्न थालेपछि धनकुटाका व्यापारी र व्यवसायी मात्रै होइन, प्रहरीको पनि टाउँको दुखाईको विषय बनिरहेको थियो । व्यवसायीहरुले सुरक्षाको माग गर्दै सुरक्षा निकायको ध्यानाकर्षण पनि गराए ।
यसरी श्रृंखलाबद्ध रुपमा चोरीका घटना बढ्न थालेपछि चोरीको घटनामा गिरोह नै लागेको हुनुपर्छ भन्ने प्रहरीले शंका गर्न थाल्यो । सोही अनुसार अनुसन्धान प्रक्रिया पनि अघि बढायो । तर जव सो घटनामा संलग्न एकजनालाई धरानबाट पक्राउ परेपछि प्रहरी पनि छक्क परेको छ ।
धनकुटा नगरपालिका १० का २६ बर्षीय सोभित खड्का, जसले विदेश जान खर्च जुटाउने बहानामा धनकुटा बजार क्षेत्रमा शृंखलाबद्ध चोरीमा संलग्न हुँदै आएको भन्दै प्रहरीले नियन्त्रणमा लिएपछि थप रहस्य पनि खुलेको छ ।
धनकुटा बजारभित्र रहेका सहकारी संस्था, मनि ट्रान्फर, माट्र्स, किराना पसल तथा सरकारी कार्यालयबाट नगद, ल्यावटप, चेक, सिसिक्यामेरा लगायतका सामग्रीसहित चोरीमा संलग्न खड्कालाई आज प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ गरिएका खड्काको साथबाट बरामद गरेको १ लाख ६२ हजार ४ सय ७० नगदसहित दुई थान ल्यापटप, मोबाइल र चोरीका घटनामा प्रयोग भएका विभिन्न सामग्री प्रहरीले सार्वजनिक गरेको छ । वैशाख २ गते राति एकै दिन दुई वटा घटना भएका थिए । उक्त दिन धनकुटा नगरपालिका–५ बिहिबारे हाट लाइनस्थित अभिषेक कर्माचार्यको घरमा रहेको रिचमण्ड मार्ट र धनकुटा–४ स्थित सडक भिडिजन कार्यालयको क्वार्टरबाट दुई थान ल्यापटप चोरी भएको जनाइएको छ ।
यस्तै, वैशाख ७ गते धनकुटा–६ शिवपार्क छेउ जमुना श्रेष्ठको घरमा कृष्णप्रसाद दाहालले सञ्चालन गरको कान्तिपुर एयर ट्राभल एण्ट टुर्स प्रालीको सटरबाट ९५ हजार नगद, सीसी क्यामेरा तथा ६ वटा चेक चोरी गरेको प्रहरीले जनाएको छ । वैशाख १८ गत एकै दिन दुई वटा घटना भएका थिए । जसमा धनकुटा–६ स्थित खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कार्यालयबाट १० हजार २ सय ७० नगद चोरी भएको थियो । सोही दिन धनकुटा–७ को साथी बचत तथा ऋण उपभोक्ता सहकारी संस्थाबाट २९ हजार ४ सय ७० नगद चोरी भएको थियो ।
सोभित खड्काले २०८१ चैत १८ गतेदेखि २०८२ बैशाख २ गतेसम्म पाँच स्थानमा चोरीका घटना घटाएको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख एसपी श्यामसिंह चौधरीले जानकारी दिए ।
धनकुटा बजारको एक होटलमा बसेर उनले शृंखलाबद्ध चोरी गर्दै आएको खुलेको छ । मुख्य अभियुक्तलाई धनकुटा र इलाका प्रहरी कार्यालय धरानको समन्वयमा मंगलबार धरानको भानुचोकबाट नियन्त्रणमा लिइएको उनले बताए ।
प्रतिवादीलाई मुलुकी अपराध संहिताको २०७४ को परिच्छेद २० अन्र्तगत चोरी सम्बन्धी कसुरमा धनकुटा जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भई रहेको प्रहरीको भनाई छ । खड्काले रोमानिया जाने क्रममा करिब डेढ लाख रुपैयाँ फसेपछि चोरी गर्न थालेको प्रहरीमा साबिती बयान दिएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस