थला पर्ने अवस्थामा सौराहाको पर्यटन

65323232

काठमाडौँ । नेपालको पर्यटनको महत्वपूर्ण हिस्सा ओगटेको सौराहा कोभिड–१९ का कारण थला पर्ने अवस्थामा पुगेको छ । करिब तीन महिनाको लामो लकडाउनपछि विस्तारै होटल सञ्चालनमा आउन थालेको भए पनि पछिल्लो समय जारी भएको निषेधाज्ञासँगै यहाँको पर्यटन थला परेको व्यवसायीहरु बताउँछन् ।

जारी निषेधाज्ञा भन्दाअघि सौराहाका केही व्यक्तिमा कोरोना पोजेटिभ देखिएसँगै यहाँको स्थानीय तहले यस क्षेत्र ‘सिल’ गरेको थियो । अहिले सौराहा कोरोनामुक्त भइसकेको छ । चैतको दोस्रो सातादेखि नै यहाँका होटल तथा रेष्टुराँहरु बन्द भएका छन् ।

कोभिड–१९ को त्राससँगै फाट्टफुट्ट मात्र अन्तरिक पर्यटक आउने गरेका थिए । बेमौसम (अफसिजन) को समयमा बाह्य पर्यटकभन्दा पनि आन्तरिक पर्यटकले धानिदै आएको सौराहामा लामो समयको बन्दाबन्दीले गर्दा यहाँका व्यवसायीहरु निराश बनेका छन् । सौराहामा असारदेखि असोजसम्मको समय अफसिजनका रूपमा लिइन्छ । व्यवसायभन्दा पनि स्वास्थ्य ठूलो भएको भन्दै असोजसम्म नै होटल बन्द गर्ने निष्कर्षमा पुगेका होटल व्यवसायीहरू बैंकको कर्जाका कारण चिन्तित बनेका छन् ।

पर्यटन व्यवसायी टीका गिरीले पर्यटन व्यवसायको अम्दानीलाई नै आयस्रोत देखाएर बैंकबाट कर्जा लिएको बताए । पर्यटक नभएपछि अहिले सबैजसो होटल तथा रेष्टुराँहरुमा ताला लागेको उनको भनाइ छ । बैंकको ब्याज तिर्न नसक्दा ठूलो मर्का परेको छ, उनले भन्नुभयो,“राज्यले ब्याजमा छुट हुने भने पनि त्यसो भएन । कर्जाका कारण पर्यटनका संरचना जोगाएर राख्नै कठिन भयो ।”

बैंकबाट कर्जा लिएर पर्यटन संरचना बनाई रहेका व्यवसायी नगेन्द्र चापागाईको पीडा पनि उस्तै छ । उनी अहिले एक पटक दुई हजार जना अटाउने सभाहल निर्माण गर्दै छन् । सभाहलको निर्माण कार्य त रोकिएको छ नै यो भन्दा चिन्ता उनलाई बैंकको ब्याज भएको छ । पर्यटन व्यवसायीलाई राज्यले राहत दिनुपर्ने उनी बताउँछन् । “यति लामो समयसम्म बन्दाबन्दी हुन्छ भन्ने सोचेका थिएनौँ”, उनले भने, “कोरोनाले अझै केही समय पर्यटक आउने वातावरण नबन्ने भएकाले यहाँको पर्यटन थला परिसकेको छ । कतिपय व्यवसायी साथीहरु होटल बिक्री गर्नेसम्म पुगेका छन् ।”

अर्का व्यवसायी रमेश दाहाल कोरोनाले अति प्रभावित भएको क्षेत्र पर्यटन भएको बताउँछन् । सरकारले ब्याजमा छुट गर्न बैंकहरुलाई आह्वान गरेसँगै चैत, वैशाख र जेठ महिनामा दुई प्रतिशत छुट पाएको उनको भनाइ छ । असारदेखि बैंकहरुले कुनै छुट नदिएपछि व्यवसाय थप धराशीय बनेको बताए ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले पर्यटन वर्ष २०२० मा चितवनमा मात्रै चार लाख पर्यटक भित्र्याउने गरी बैंकबाट कर्जा लिई संरचना निर्माण काम थालिएको बताए । “अहिले बैंकबाट आउने ताकेताले मानसिक असर परेको छ”, उनले भने, “न साँवा फिर्ता गर्न सक्छौँ, न त ब्याज नै । होटल खोलेर मात्रै पनि भएन । अहिले पर्यटक आउने सम्भावना नै छैन ।”

विद्युत्को महसुल बुझाउन नसक्ने अवस्थामा व्यवसायी पुगेको उनी बताउँछन् । विद्युत् महसुल बुझाउन नसकेपछि विद्युत् प्राधिकरणले लाइन काट्न शुरु गरेको उनको भनाइ छ । थला परेको यहाँको पर्यटन व्यवसाय उठ्न करिब दुई वर्ष लाग्ने उनी बताउँछन् । नेपालको तेस्रो पर्यटकीय क्षेत्रको रुपमा परिचित सौराहामा साना ठूला गरी १२० वटा होटल तथा ५७ वटा रेष्टुराँ रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...