कोरोनाले खुम्चियो पर्यटन बोर्डको बजेट

21564564

काठमाडौँ । कोभिड–१९ महामारीका कारण पर्यटकीय गतिविधि ठप्प भई स्रोतको अभावले नेपाल पर्यटन बोर्डको बजेट खुम्चिएको छ । वार्षिक रुपमा झण्डै रु दुई अर्ब बजेट विनियोजन गर्ने बोर्डले चालू आर्थिक वर्ष २०७७/७८ का लागि करीब रु ८२ करोडको बजेट विनियोजन गरेको छ ।

बोर्डको सोमबार बसेको सञ्चालक समितिको बैठकले अध्ययन÷अनुसन्धान, ‘डिजिटल मार्केटिङ’ र आन्तरिक पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर चालू आवको बजेट पारित गरेको हो । कोभिड–१९ महामारीका कारण पर्याप्त स्रोतको अभावमा यसपटकको बजेट घट्न गएको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा.धनञ्जय रेग्मीले बताए ।

उनले भने, “अहिलेलाई मुस्किलले रु ८२ करोड विनियोजन गरिएको छ । यसका लागि पनि स्रोत जुट्न हम्मे पर्ने देखिन्छ, कोभिड महामारीको परिस्थिति हेरेर पछि नयाँ कार्यक्रम पनि समावेश हुन सक्छन् ।” प्रमुख कार्यकारी अधिकृत डा रेग्मीले यस पटकको बजेटमा अध्ययन, अनुसन्धान र डिजिटल मार्केटिङलाई दृष्टिगत गरी बजेट विनियोजन गरिएको बताए ।

नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धनमा केन्द्रित बोर्डको गत आवकोे बजेट रु एक अर्ब ६३ करोड थियो । कोभिड–१९ महामारीका कारण पर्यटक आवागमन ठप्प भई आम्दानीको स्रोतको अभावमा बोर्डको बजेटमा भारी कटौती भएको छ । विदेशी पर्यटक आगमनबाट हुने आम्दानी नै बोर्डको मुख्य आर्थिक स्रोत रहेको छ ।

कोरोना महामारीका कारण पर्यटकीय गतिविधि ठप्प हुँदा स्रोतको अभाव भएकाले बजेट ह्वात्तै घटाइएको बोर्डले जनाएको छ । बोर्डले यस वर्ष पूर्वाधार विकासमा बजेट छुट्याएको छैन । नेपालको छोटो दूरीका मुख्य पर्यटकीय स्रोत बजार भारत र चीनमा पर्यटन प्रवद्र्धनका कामलाई प्राथमिकतमा राखेर बजेट ल्याइएको छ ।

पर्यटन प्रवद्र्धनमा सबैलाई सँगसँगै समन्वयका साथ अघि बढाउन डिजिटल मार्केटिङको अवधारणालाई प्राथमिकता दिइएको प्रमुख कार्यकारी अधिकृत डा.रेग्मीले जानकारी दिए । 
उनले बजेट छोटो तर धेरै उपलब्धि हासिल गर्ने योजनाका साथ ल्याइएकाले बोर्डका अघिल्ला बजेटभन्दा यस पटकको बजेट निकै प्रगतिशील भएको दाबी गरे ।

यस पटकको बजेटले आन्तरिक पर्यटन प्रवद्र्धनलाई पनि विशेष जोड दिएकाले कोभिडपछिको पर्यटनलाई रिभाइवमा सहयोग पुग्ने विश्वास लिइएको छ । बोर्डले गरेको एक अध्ययनअनुसार बन्दाबन्दीको चार महिनाको अवधिमा मुलुकको पर्यटन तथा हवाई क्षेत्रले रु ३७ अर्ब गुमाएको छ । यस क्षेत्रमा आबद्ध लाखौँ मजदूर तथा कर्मचारीले रोजगारी गुमाउनु परेको छ ।

पर्यटकीय गतिविधि सम्पूर्ण बन्द भएको तथा बोर्डसँग नगद मौज्दातसमेत कम भएकाले आगामी वर्षको बजेटको आकार सानो भएको बोर्डका सञ्चालक समिति सदस्य तथा बजेट समितिका संयोजक अवधेशकुमार दासले बताए । बोर्डको प्रमुख आर्थिक स्रोत ट्रेकिङमा जाने पर्यटकबाट उठ्ने रकम तथा पर्यटकबाट लिइने टुरिज्म सर्भिस फी (टिएसएफ) बाट आउने रकम हो । अहिले पर्यटक आगमन बन्द हुँदा यी दुवै आय प्रभावित भएका छन् ।

स्रोत नै नभएको अवस्थामा मितव्ययी भई बजेट निर्माण गरिएको संयोजक दासले बताए ।  पर्यटन बोर्डले कोरोनापछि सन् २०२० मा करीब दुई लाख पर्यटक आगमन हुने अपेक्षासहित करीब रु २४ करोड त्यसबाट आम्दानी हुने प्रक्षेपण गरेको छ । 

यस्तै बोर्ड र टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को संयुक्त खातामा रहेको पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) बापतको रु १५ करोड, नेपाल भ्रमण वर्षका लागि मन्त्रालयबाट प्राप्त हुने रु ५ करोड एअर एसियाबाट प्राप्त हुनुपर्ने रु पाँच करोड, युएनडिपीबाट प्राप्त हुने करीब डेढ करोड रुपैयाँ र अन्य सञ्चित कोषको रकमबाट बजेट निर्माण गरिएको बोर्ड सदस्य दासले बताए । 

बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले कोभिड–१९ पछिको पर्यटन पुनरोत्थानका लागि तीन विषय गन्तव्य सुरक्षित छन् भनेर सन्देश प्रवाह गर्न, पर्यटकीय सेवामा प्रोत्साहनका कार्यक्रम र नेपाल केका लागि आकर्षण भन्ने स्टोरी क्रियसन गरी प्रवद्र्धन गर्ने गरी बजेटको कार्यान्वयन गरिनुपर्ने उल्लेख गरे । 

उनले कोरोनाका कारण पर्यटन क्षेत्रमा ठूलो लगानी जोखिममा रहेकाले सम्भावित जोखिम कम गर्दै छिटो पर्यटन पुनरोत्थानका लागि रणनीतिक योजनाका साथ अघि बढ्न जरुरी भएको बताए ।  कोरोनाका कारण बोर्डको आम्दानी प्रभावित भएकाले थोरै बजेटबाट नगरी नहुने कामबाहेक अन्य सबै कार्यक्रमको बजेट कटौती गरिएको बोर्डले जनाएको छ । 

यस्तै बिबिसी, सिएनएन जस्ता विदेशी मिडियामा प्रचारप्रसारका लागि बोर्डले बजेट व्यवस्था गरेको छ । कोरोनाका कारण पहिले जस्तो प्रवद्र्धनात्मक कार्यक्रम गर्न सम्भव नहुने भएकाले प्रविधिको प्रयोग गरी पर्यटन प्रवद्र्धन गरिनेछ । पर्यटनबाट रोजगारी गुमाएका केहीका लागि अल्पकालीन रोजगारी सिर्जना गर्नेलगायत कार्यक्रम बजेटले समेटेको छ ।

यसका लागि टिम्सअन्तर्गतको कल्याणकारी कोषको करीब २ करोड रकमबाट पर्यटन, श्रमिकलाई व्याज अनुदान दिइने, आन्तरिक पर्यटन प्रवद्र्धनका लागि डिजिटल तथा अनलाइन प्रचारप्रसार जस्ता कार्य गरिने जनाइएको छ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

प्रतिकृया दिनुहोस