लकडाउन खुलेको २ हप्तापछि मात्र एसईई हुने

See exam

काठमाडौं । लकडाउन अन्त्य भई अन्य अवस्था सामान्य भएमा त्यसको दुई सातापछि मात्र माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) परीक्षा सञ्चालन हुने भएको छ ।

गत चैत ६ गतेदेखि १७ गते सम्म हुने गरी सञ्चालनका लागि सबै तयारी पूरा भए पनि भाइरसको जोखिमका कारण उच्चस्तरीय समन्वय समितिको चैत ५ गते साँझको बैठकले परीक्षा स्थगनको निर्णय गरेको थियो ।

सो परीक्षाका लागि चार लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका थिए भने एक हजार नौ सय ९५ परीक्षा केन्द्र निर्धारण गरिएको थियो । बोर्डले गत चैत ८ गतेदेखि हुने कक्षा १२ र चैत २५ गतेदेखि हुने भनिएको कक्षा ११ को परीक्षा पनि बन्दाबन्दीका कारण स्थगन गरेको थियो ।

मन्त्रालयले कोरोनाको जोखिम कम भएमा अरु पूर्व निर्धारित परीक्षा केन्द्रका उपकेन्द्र निर्धारण गरी परीक्षा गर्ने र जोखिम कायम रहेमा परीक्षा प्रणालीका अन्य विकल्पमा पनि राखिएको मन्त्रालयका सचिव महेशप्रसाद दाहालले बताए ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई) ले परीक्षाका विषयमा आइतबार गरेको भिडियो छलफलमा सचिव दाहालले बन्दाबन्दीबारे सरकारले निर्णय गरेपछि मन्त्रालयले परीक्षाबारे धारणा सार्वजनिक गर्ने उल्लेख गरे । परीक्षा भएमा विद्यालयलाई सामाजिक दुरीसहित बस्ने गरी नजिक नजिक परीक्षा केन्द्र राख्नुपर्ने सुझाव पनि दिइएको छ ।

नयाँ परिस्थितिमा वैकल्पिक शिक्षा विधि र परीक्षा सञ्चालनको ढाँचाबारे गठित समितिले काम गरिरहेको र प्रारम्भिक सुझाव प्राप्त भएकाले अवस्था हेरेर परीक्षा सञ्चालन गर्ने गरी तयारी अघि बढ्ने जानकारी दिए ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष लक्ष्मण शर्माले माथिल्लो कक्षामा प्रवेश परीक्षा पनि लिइने भएकाले कक्षा १० को एसइई परीक्षालाई हाउगुजीका रुपमा कायम राखिराख्न नपर्ने तर्क राखे । उनले स्थानीय तहको समन्वयमा तीन दिनभित्र विद्यार्थीको आन्तरिक मूल्याङ्कनका आधारमा तीन दिनभित्र प्राप्ताङ्क तयार गर्न सकिने जनाए ।

 

प्रतिकृया दिनुहोस