२२ बर्षकै उमेरमा एकै पटकमा शाखा अधिकृतमा नाम निकाल्ने रजनीको यस्तो छ लोभै लाग्दो अनुभब

रजनी रेग्मी 

काठमाडौँ  । जुन दिन सेन्ट जेभियर्स कलेजबाट पत्रकारिताबाट स्नातक तह पास गरेँ, त्यसैदिन मैले निर्णय गरेँ, निजामती सेवालाई आफ्नो ‘करिअर’ का रूपमा अँगाल्नेछु ।  सानैदेखि मलाई समसामयिक विषयवस्तुमा रुची थियो, त्यही कारणले गर्दा नै होला मलाई लोकसेवाप्रति तृष्णा जाग्यो । यही तृष्णाले मलाई लगनशील बनायो  । तयारीका सम्पूर्ण चरणमा पढाइलेखाइमा मलाई कहिल्यै बोझको आभास भएन ।  

परिवारमा निजामती सेवाको माहोल पनि भएको भएर होला मलाई यसप्रति लगाव थियो । निजामती सेवाको गरिमा र सम्मानप्रति म सधैँ उत्साहित थिएँ । यसमा प्रवेश गरेर आफ्नो पेशागत विकास तथा समाज र देशका लागि योगदान दिन सकिन्छ भन्ने बोध गरेको थिएँ । 

पत्रकारिताको अध्ययन सहयोगी बन्यो 

म बाल्यकालदेखि नै कुनै पनि नयाँ विषयवस्तुप्रति जिज्ञासा राख्थेँ । आफू जन्मेको समाजका बारेमा जानकारी राख्नुपर्छ भन्ने लाग्थ्यो । पत्रकारिता विषय पढेकाले पत्रकारिताका अवधारणाले मलाई धेरै सहयोग गर्‍यो । कुनै पनि विषयका आयाम खोतल्न सहयोग गर्‍यो । जस्तो पत्रकारितामा ‘पाँच–डब्लु, एक एच’ को अवधारणा छ । यसले कुनै पनि घटना के, कहाँ, कहिले, किन, को र कसरी भयो भन्ने अवधारणा दिन्छ । 

२२ वर्षमा नाम निकालेँ

मैले पहिलोपटक २२ वर्षको उमेरमा लोकसेवाको परीक्षा दिएकी थिएँ । त्यसको एक वर्षपछि नाम निकालेँ । धेरैले कम उमेरमै नाम निकालेको भन्थे । तर, मलाई लाग्थ्यो, उमेर भनेको अंक न हो । आफ्नो क्षमता र सोच भयो भने उमेरले छेक्ने भन्ने हुँदैन जस्तो लाग्छ । सानै उमेरमा निजामती सेवामा प्रवेश गर्ने युवाहरूमा निजामती सेवाप्रति एक किसिमको अपनत्व र लगाव हुन्छ जस्तो लाग्छ । 

विषयप्रतिको धारणा स्पष्ट हुनु अतिआवश्यक हुन्छ । मेरो अनुभवमा लोकसेवा आयोगको तयारी गर्दा  लोकसेवाको ‘गाइड बुक’ मा जे छ त्यही लेख्न खोज्नुभन्दा पनि विषयप्रति आफ्नो बुझाइ र धारणा स्पष्ट बनाउन जरुरी हुन्छ । त्यसको आधारमा ठोस तथ्यांक समावेश गर्दा मौलिक पनि हुने र तथ्यमा आधारित उत्तर पनि हुने हुन्छ । 

आफैँ शिक्षक, विद्यार्थी पनि आफू नै भएँ 

कुनै पनि विषयभित्र प्रवेश गर्नुपूर्व त्यस विषयप्रति आफूले बुझेको, जानेको, विषयको चित्रण गर्थेँ । आफैँ शिक्षक र विद्यार्थी पनि आफैँ भएर आफैँमा अभ्यास गर्थेँ । कुनै पनि विषयमा आफ्नो मौलिक धारणा हुन आवश्यक  हुन्छ । आफ्नो एक किसिमको बुझाइ भएपछि मात्र म त्यस विषयबारे गहन अध्यान गर्थेँ ।     

पुस्तकमा मात्र कहिल्यै सीमित भइनँ 

मैले जति पेपरको परीक्षा दिनुपर्ने थियो, हरेक पेपरका लागि एउटा मात्र ‘रिफरेन्स’ किताब पढेँ धेरै पढ्ने तर थोरै बुझ्ने भन्दा पनि थोरै पढ्ने धेरै बुझ्नुपर्छ भन्ने मेरो धारणा र बुझाइ छ । हरेक दिन पत्रपत्रिकाको सम्पादकीय तथा विज्ञका लेखहरू पढेर टिपोट गर्थें । इन्टरनेटलाई उपयोग गरेँ । मैले लोकसेवा तयारी गर्दा ५० प्रतिशत जानकारी र अध्ययन किताब र बाँकी ५० प्रतिशत इन्टरनेटबाट गरेँ । अर्थात् किताब र इन्टरनेटबाट बराबर अध्ययन गरेँ । 

गीत र कवितामा सूत्र बनाएर पढेँ 

सामान्यज्ञान आफैँमा बृहत् हुन्छ । सयौं मिति, स्थान, भूगोल, इतिहास इत्यादि सम्झनु त्यति सहज छैन ।  मैले हरेक शीर्षकको एउटा गीत  वा कविता बनाउथेँ र त्यही गीतरकवितामा मिति, स्थान, इतिहास, भूगोल आदि समावेश गर्थेँ । परीक्षाभन्दा अघि अध्ययनको पुनरावलोकनका लागि त्यस्तो सिर्जनात्मकताले सहयोग गथ्र्यो । 

समय थोरै हुँदा समय व्यवस्थापनबारे सिकेँ

तयारी कक्षा सुरु हुनुभन्दा ३–४ महिनाअघि नै मैले लोकसेवाको फाराम भरेँ । म मानसिक रूपले तयार थिएँ, मैले समय व्यवस्थापन गर्न सकिन भने मलाई ‘कोर्स कभरेज’ पनि गाह्रो हुन्थ्यो  र त्यसले मलाई समय व्यवस्थापनको तनाव हुन्थ्यो । प्रत्येक दिन समयतालिका बनाएर पढेँ । लेखेर बढी अभ्यास गरेँ । 

चातुर्आयामिक सूत्रको उपयोग 

अधिकृतस्तरमा कुनै पनि विषयमा सतही ज्ञानभन्दा पनि केही  विश्लेष्णात्मक सीप चाहिन्छ । तसर्थ प्रत्येक शीर्षकलाई चार आयामबाट बुझ्नुपर्ने हुन्छ । यो मूल मन्त्र मैले लोकसेवाका विज्ञहरूबाट सुनेँ, र उपयोग गरेँ । यो मेरा लागि निकै उपयोगी बन्यो । 

 राजनीतिक आयाम 

 आर्थिक आयाम 

 सामाजिक आयाम

 वातावरणीय आयाम  

 पढाइको यो सुत्र मेरा लागि अन्तर्वार्तासम्म उपयोगी बन्यो 

 प्रभावकारी तयारी 

लोकसेवा परीक्षा दिने क्रममा एउटा घटना घट्यो । यो मलाई पछि एउटा पाठ पनि बन्यो । प्रथम पत्रमा परीक्षाको  समय सीमित गरिएको  हुन्छ । परीक्षा  हलभित्र समयमा प्रवेश गरेर त्यहाँको माहोल बुझेर तनावरहित भएर परीक्षा दिनुपर्ने हुन्छ । तर, म परीक्षा सुरु भएको १० मिनेटपछि परीक्षाहल पुगेँ । परीक्षा राम्रै भयो, तर, अझै समयमा पुग्न पाएको भए तनावरहित भएर लेख्न सकिन्थ्यो भने लाग्यो । यो घटना मेरा लागि जीवनोपयोगी सिकाइ भयो । 

लोकसेवा आयोग तयारी ‘स्मार्ट’ र प्रभावकारी हुनुपर्छ । कति समय दिनेभन्दा पनि समयलाई कसरी उपयोग गर्ने भन्ने हो । परीक्षा हलमा बस्दा आफूसँग भएको ज्ञानलाई निर्धारित समयमा उतार्ने गरी तयारी गर्नुपर्छ । परीक्षा उत्तीर्ण गर्ने विश्वव्यापी कुनै सूत्र छैन । सबैको आफ्नो शैली हुन्छ, तर जसरी तयारी गरे पनि मौलिक, तथ्यमा आधारित र अवधारणामा स्पष्ट हुनुपर्छ ।

(रेग्मी शाखा अधिकृत, घरेलु तथा साना उद्योग कार्यालय त्रिपुरेश्र्वरमा कार्यरत छिन् ।)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...