जेठभित्रै लाइसेन्सको परीक्षा लिन शिक्षक सेवा आयोगको तयारी, लाइसेन्सको परीक्षा नयाँ पाठ्यक्रमअनुसार हुने

काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षण अनुमति पत्र (लाइसेन्स) को परीक्षा जेठभित्रै गर्ने भएको छ । २०७५ चैतभित्र लिने भनेको निर्धारित मितिमा गर्न नसकेपछि २०७६ जेठ भित्रमै लाइसेन्सको परिक्षा सम्पन्न गर्नेगरी प्रक्रिया अघि बढाएको छ । 

शिक्षक सेवा आयोगले यहि जेठ भित्रमै  लाइसेन्स परीक्षा लिने तयारी गरिरहेको छ । आयोगले विषयगत परीक्षा लिनेगरी माध्यमिक र निम्नमाध्यमिक तहका लागि नयाँ पाठ्यक्रम तयार पारिसकेको छ । आयोगले अनलाइनबाटै फारम भर्ने व्यवस्था मिलाउँदैछ भने वस्तुगत प्रश्नको उत्तरपुस्तिका यन्त्र प्रणालीमार्फत् जाँच्ने तयारी गर्दैछ । 

लोकसेवाले बिज्ञापन गरे पछी मात्र शिक्षण अनुमति पत्रको परीक्षा लिने सेवा आयोगको आन्तरिक तयारी छ । लोकसेवाले जेठ १५ गते झन्डै १५ हजार कर्मचारीको बिज्ञापन गर्दैछ ।

यो पटक परीक्षार्थीको योग्यता पनि तीनै तहका लागि प्रचलित नियमावली अनुसार नै हुने भएको छ । आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलियाका अनुसार अबको लाइसेन्स परीक्षा नयाँ पाठ्यक्रम बमोजिम विषयगत हुनेछ ।

आयोगको नियमावलीको नियम ९ अनुसार माध्यमिकका लागि स्नातक,  निम्नमाध्यमिक र प्राथमिक दुबै तहका निम्ति १२ कक्षा वा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनु पर्नेछ । त्यसका लागि १० महिना तालिम लिएको हुनुपर्ने उल्लेख छ । 

यद्यपि माध्यमिक तहको हकमा ९ वटा विषयमा तालिम नभए पनि जाँच दिन पाउने व्यवस्था गरिएको छ । जसमा अंग्रेजी, गणित, विज्ञान, लेखा र प्राविधिक विषयहरु रहेका छन् । यी विषयमा शिक्षाशास्त्रबाहेक विषय पढेकाले पनि जाँच दिन पाउँछन् ।  



प्रतिकृया दिनुहोस