जनप्रतिनिधीका छोराछोरी बोर्डिङमा भर्ना, विद्यार्थी संगठनद्धारा अनिश्चिकालिन सामुदायिक विद्यालय बन्द

गुल्मी । गुल्मीको रुरु गाउँपालिकाका सामुदायिक विद्यालय अनिश्चित समयको लागि बन्द भएका छन् । सत्तारुढ दल नेकपाका भातृ संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) का विद्यार्थीहरुले गाउँपालिकाका सबै सामुदायिक विद्यालयहरु बन्द गराएका हुन् ।

गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीले नै आफ्ना छोराछोरी निजि विद्यालयमा भर्ना गराएको विरोधमा सामुदायिक विद्यालयहरु बन्द गराइएको अनेरास्ववियु (क्रान्तिकारी) रुरु गाउँपालिकाका विद्यार्थी नेता बालेन श्रेष्ठले जानकारी दिए ।

भर्ना अभियानमा संलग्न जनप्रतिनिधी र कर्मचारीले नै आफ्ना छोराछोरी सामुदायिक विद्यालय छोडेर निजि विद्यालयमा भर्ना गराउनु शैक्षिक क्षेत्रमा दुखद् पक्ष भएको विद्यार्थी संगठनहरुले जनाएका छन् ।

‘एकातर्फ सार्वजनिक कार्यक्रमहरुमा सामुदायिक विद्यालयको गुणगान गाउदैँ हिड्ने, अर्कोतर्फ आफ्नै छोराछोरी सामुदायिक विद्यालय छोडेर निजिमा भर्ना गराउने ?’ श्रृङ्गेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापति किसन पाण्डेले भने, ‘जनप्रतिनिधी र कर्मचारीको यो कार्यले विद्यार्थी र समुदायको भलो गर्दैन ।’

त्यसका साथै उनीहरुले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा फिर्ता नगरे आफुहरुको आन्दोलन जारी रहने पाण्डेले जानकारी दिए । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) का विद्यार्थी संगठनले यस्तो कार्य बन्द गर्न भन्दै वैशाख ९ गते सोमबार गाउँपालिकाको शिक्षा शाखामार्फत ध्यानाकर्षण पत्र समेत बुझाएका थिए ।

सोहि पत्रमार्फत यदि विद्यार्थी संगठनहरुको आग्रहलाई वेवास्ता गरे गाउँपालिकाभित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरु अनिश्चितकालिन बन्द गर्ने चेतावनी दिएका थिए । सोहिअनुरुप बिहिबार सम्पूर्ण सामुदायिक विद्यालयहरु बन्द गरिएको स्ववियु सभापति पाण्डेले बताए । यस सम्बन्धमा रुरु गाउँपालिका अध्यक्ष निलकण्ठ गौतमले समस्याको समाधान खोज्ने पहल भइरहेको बताएका छन् ।



प्रतिकृया दिनुहोस