सगरमाथा आरोहण गर्न ३ सय जनाले लिए अनुमति

Sagarmatha 28

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न १२ नेपालीसहित ३ सय जनाले अनुमति लिएका छन् । यो वर्ष देशका विभिन्न हिमाल आरोहण गर्न ७० समूहका ६ सय १६ आरोहीले आरोहण अनुमति पाएका छन् ।

पर्यटन विभागका अनुसार बुधबारसम्म ३० समूहका ३ सय जनाले सगरमाथा आरोहण अनुमति लिएका छन् । आरोहण अनुमति लिनेमा नेपालसहित ४२ राष्ट्रका २५१ पुरुष र ४९ महिला रहेका छन् । सगरमाथाको शिखर जानेमा सबैभन्दा धेरै भारतका ५८ पुरुष र नौ महिला गरी ६७ पर्वतारोही रहेका पर्यटन बोर्डले जनाएको छ ।

आठ हजार ५१६ मिटर उचाइको लोत्सेका लागि सात समूहका ६६, छ हजार ८१४ मिटर उचाइको आमादब्लम हिमाल आरोहणका लागि चार समूहका ४१, सात हजार ८६१ मिटर उचाइको नुप्त्से हिमाल आरोहणका लागि दुई समूहका २७ र आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण हिमाल आरोहणका लागि तीन समूहका २३ आरोहीले अनुमति पाएका पर्यटन बोर्डले जनाएको छ ।

आठ हजार ४६३ मिटर उचाइको मकालु हिमाल आरोहणका लागि चार समूहका ५३ ले अनुमति लिएका छन् । सगरमाथासहित देशका २० हिमाल आरोहण गर्ने आरोहीबाट बुधबारसम्म ३९ करोड १५ लाख ४४ हजार १४५ राजश्व सङ्कलन गरेको छ ।

प्रतिकृया दिनुहोस