शाखा अधिकृत रेग्मीको अनुभव : लोकसेवा पास गर्न कथा र गीत बनाएर सम्झिएँ

Bishnu hari regmi

बढ्दो प्रतिस्पर्धामा आफ्नो अब्बलता प्रमाणित गरी श्रेष्ठता हासिल गर्ने उत्कृष्ट चाहना र विश्वासका साथ लोकसेवा आयोगको परीक्षा तयारीमा रहनुभएका सबै योग्यतम र इच्छुक साथीहरूलाई उपयोगी हुने अपेक्षासहित लोकसेवा यात्रामा संगालेका अनुभव र लोकसेवा सहयोगी कक्षाको सहजीकरणका दौरान मैले अनुभूत गरेका आधारमा लोकसेवा लगायतका प्रतिस्पर्धात्मक परीक्षालाई अब्बल एवं सफल बनाउने केही उपाय यस्ता छन् ।

–पाठ्यक्रमसँग अति निकटतामा रही परिचित हुने, शब्द तहसम्मको अर्थ र अवधारणा बुझ्ने, त्यसको सिद्धान्त, दायरा र सार्वजनिक प्रशासनसँगको आबद्धता पहिचान गर्ने ।

–पाठ्यक्रमले समेटेको विषयवस्तुलाई जानकारीको तहका आधारमा जानेको, थोरै जानेको र जान्दै नजानेको समूहमा वर्गीकरण गरी आवश्यक मिहिनेतको मात्रा आकलन गर्ने ।

–प्राथमिकताका आधारमा अध्ययन कार्यतालिका बनाई नियमित र गुणात्मक अध्ययन र अभ्यास गर्ने ।

अध्ययनका ४ विधि
अध्ययन, लेखन, श्रवण र दृश्य दर्शन । सुरुवातमा सरसर्ती पढ्ने, आवाजसहित पढ्ने, एकान्तमा गई एकपटक राम्रोसँग पढेको कुरा रेकर्ड गर्ने र पढ्न अनुकूल नहुने समयमा रेकर्ड सुन्ने, पढ्दाभन्दा सुन्दा बढी प्रतिशत स्मरण हुने मेरो अनुभव छ ।

एक चरण पढाइ सकिएपछि प्रश्नको जतिसक्दो छिटो उत्तर लेख्न प्रयास गर्ने । सुरुमा आफैँले जाँच गरी हेर्ने र कमजोरी सच्याउँदै लेख्दै जाने । लेख्दा संरचनात्मक उत्तरको अभ्यास गर्ने, शीर्षक र उपशीर्षक बनाएर लेख्ने, चित्र, तालिका, सूची वा फ्लो डायग्रामको औचित्यपूर्ण प्रयोग गर्ने ।

साधारण र सैद्धान्तिक प्रश्नबाट क्रमशः व्यवहारिक, समाधानमूलक र विश्लेषणात्मक उत्तरको अभ्यास गर्ने, विगतमा सोधिएका र लोकसेवाको नमुना प्रश्नलाई मूल आधार बनाउने, उत्तरमा अनावश्यक भूमिका, मागेको भन्दा जानेको कुरा, बहकिएर विषयवस्तु बाहिर गई, पटक–पटक एउटै कुरा दोहो¥याएर र भद्दा निष्कर्ष लेख्नु हुँदैन ।

ल्याकत वा सामान्य बौद्धिक परीक्षणका लागि अध्यायका आधारमा अनलाइनमा उपलब्ध सामग्रीहरू पढ्ने, भिडियो कक्षाहरू हेर्ने । तर आधिकारिक र भरपर्दो साइटबाहेक अन्यत्र समय व्यतित गरी बरालिनु हुँदैन ।

तयारी गर्दै जाँदा आधारभूत र अनिवार्य लागेका र हुबहु जान्नैपर्ने विषयमा गीत, कथा, कविता, सूत्र आदि बनाएर सजिलै सम्झन सकिन्छ । जस्तो– संवैधानिक प्रावधानहरू, अपरिवर्तनीय सामान्य ज्ञान, इतिहासका विषय, भूगोलका विषय आदि सुरुदेखि अन्त्यसम्म सम्झने गरी रिफरेन्स वा लिंक पढ्नुपर्छ ।

साथीहरूसँग अन्तक्र्रिया वा छलफल गरी पढ्दा गलत बुझाइको पहिचान हुनुका साथै द्विविधा निराकरण हुन्छ भने बढीभन्दा बढी पाठ्यसामग्री र तिनमा समेटिएका विषयवस्तुसमेत जान्न पाइन्छ । तयारीकर्ताले आफ्नो स्वास्थ्यको उत्तिकै ख्याल गर्नुपर्दछ । स्वस्थ जीवन र सुरक्षित खानपानका साथै सकेसम्म नियमित व्यायाम र योगसाधना गर्न सके दिमागी तिक्ष्णता बढ्दै जान्छ । वस्तुगत प्रश्नको तयारी गर्दा शीघ्र दोहो¥याउने विधि, छानेर नजानेको–नजानेको मात्र धेरै पढ्ने विधि, पढेको सुन्ने विधि र लोकसेवाको प्रश्नपत्रको नमुना तयारी विधि अपनाउनुपर्छ ।

सार्वजनिक प्रशासनको पाठ्यक्रम खासगरी बहुक्षेत्रको सामान्य जानकारी आवश्यक पर्ने विधा भएकाले पाठ्यक्रमको मर्म र भावनाअनुरूप कुनै पनि अध्याय नछुट्ने र कमजोर नहुने गरी तयारी गर्नु वाञ्छनीय हुन्छ । परीक्षामा एकभन्दा बढी चरण एवं विषयहरू समेटिएको र वस्तुगत, विषयगत एवं मनोवैज्ञानिक परीक्षणसमेत पार गर्नुपर्ने भएकाले कुनै एक विषय वा परीक्षामा गरिने वा हुने सानो गल्तीले पनि असफल हुन सक्नेप्रति चनाखो रहनुपर्छ ।

समग्रमा लोकसेवाको तयारी प्रतिस्पर्धीभन्दा उत्कृष्ट बन्ने पूर्वाभ्यास हो, जुन लगन, धैर्य, सकारात्मक मनोवृत्ति, निरन्तरको परिश्रम र समाधानमुखी दृष्टिकोणबाट सहजै प्राप्त हुन्छ ।

(रेग्मी शाखा अधिकृत हुन्)

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...