आंगिक क्याम्पसमा ३३ प्रतिशत महिला क्याम्पस प्रमुखहरु बनाउन माग

Campas 33 pratisat mag

काठमाडौं । पद्यकन्या बहुमुखी क्याम्पस बागबजारका महिला प्राध्यापक, महिला कर्मचारी तथा विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयका देशभरीका आंगिक क्याम्पसहरुमा ३३ प्रतिशत क्याम्पसमा महिला क्याम्पस प्रमुखहरु बनाउन माग गरेका छन् ।

बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महिला प्राध्यापक, महिला कर्मचारी तथा बिद्यार्थीले यस्तो माग राखेका हुन् । उनीहरुले पद्म कन्या बहुमुखी क्याम्पसमा रिक्त रहेको क्याम्पस प्रमुखमा महिला प्राध्यापकलाई नियुक्त गर्न पनि माग गरेका छन् ।

पद्यकन्या बहुमुखी क्याम्पसकी गृह विज्ञान केन्द्रीय बिभागकी प्रमुख प्रा. डा. मनसा थापा ठकुराठीले महिला क्याम्पसमा महिलालाई नै प्रमुखमा नियुक्ति गर्न सरकारसंग माग गरिन् । स्थापनाकालदेखि नै गर्विलो ईतिहाँस बोकेको क्यापसमा अहिले आएर योग्य महिलालाई बिभेद गरेर पुरुषलाईमात्र योग्य बनाउन खोजिएको उनको आरोप छ ।

पद्म कन्या क्याम्पस प्राध्यापक संघ नेपालकी सदस्य एवम् उप–प्राध्यापक बिमला नेपालले संविधानले दिएको ३३ प्रतिशत अधिकारलाई प्राज्ञिक क्षेत्रमानै बिभेद गरिएको गुनासो गरिन् । उनले आफुहरुलाई नेतृत्व दिने बिषयमा बिभेद गरिएको भन्दै आफुहरुपनि समान योग्यताबाट आएको स्मरण गराइन् ।

पद्म कन्या क्याम्पस पूर्व एकाई अध्यक्ष तुलसा पन्तले देशमा भएका परिवर्तनहरुमा महिलाहरुको पनि सहभागिता रहेको तथा कानुनले पनि महिलालाई ३३ प्रतिशत अधिकार दिएको जानकारी गराउँदै त्रिबिले यसलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् ।

प्रतिकृया दिनुहोस