राष्ट्रिय जलवायू सम्मेलनले दुलही झैं श्रृंगारियो सिन्धुपाल्चोकको गुफाडाँडा

Gufadada sindhupalchok

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको गुफाडाँडामा ‘राष्ट्रिय जलवायू सम्मेलन २०७५’ आजबाट सुरु हुने भएको छ । मेलम्ची नगरपालिकाको गुफाडाँडामा सम्मेलन दुई दिनसम्म चल्ने सो सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।

सम्मेलन हुने गुफाडाँडालाई यतिखेर दुलही झैं श्रृंगारिएको छ । जलवायु परिवर्तन सम्बन्धीको संचेतनात्क प्रतिमा निर्माण भइसकेको छ भने ७७ वटै जिल्लाको नामाकरण गरिएको पोलमा राष्ट्रिय झण्डा फरफराइ सकेको छ ।

स्थानीय, प्रदेश र केन्द्रमा जननिर्वाचित सरकार बनेपछि सबै तहले जलवायु परिवर्तनबाट बच्न अनुकूलनको योजना बनाउने तयारी गरिरहँदा गुफाडाँडामा सम्मेलन हुन लागेको हो ।

समुद्री सतहबाट करिब २५ सय मिटरको उचाइमा रहेको गुफाडाँडामा हुन गइरहेको सम्मेलनका लागि सबै तयारी भइसकेको सम्मेलन संयोजक एवम् सिन्धुपाल्चोक जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले बताए ।

सो सम्मेलनमा भाग लिन ७७ ओटै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख तथा विषय विज्ञहरु गुफाडाँडा पुगेका छन् । विश्वको जल्दोबल्दो समस्या बन्दै गरेको जलवायु परिवर्तनको विषयमा छलफल हुनेछ ।

सो सम्मेलनमा जलवायु अनुकूलन तथा न्यूनीकरणको उपायहरूको पहिचान, कार्यक्रम तर्जुमा तथा कार्यान्वयनले स्थानीयस्तरमा प्राथमिकता नपाएका कारण क्षेत्रगत तथा विषयगत सूचना उपलब्ध गराउने संयन्त्र बनाउन सम्मेलनमा जोड दिइनेछ ।

जिल्लाका नदीनालामा बन्ने आयोजनाबाट जलवायु परिवर्तनमा पर्ने असर न्यूनीकरण र असर वापतको स्थानीयतहमा शुल्क व्यवस्थापनका विषयमा पनि सम्मेलनमा छलफल हुनेछ ।

प्रतिकृया दिनुहोस