पर्यटकको आकर्षक गन्तव्यस्थल कैलालीको ‘टीकापुर पार्क’

Tika pur park

सुखड । पर्यटकका लागि कैलालीको टीकापुरमा रहेको बृहत् उद्यान (टीकापुर पार्क) आकर्षक गन्तव्य बन्न थालेको छ ।

पार्क छेउमै रहेको कर्णाली नदीको कलकल बग्ने पानी, नदीको छालमा गरिने जलयात्रा याफ्टिङको रोमाञ्चकारी यात्रा र पार्कमा फुलेका झण्डै ४२ प्रजातिका रङ्गीविरङ्गी गुलाफका फूलले पर्यटकलाई आकर्षित गरेको हो ।

जिल्लाको पूर्वी क्षेत्रको टीकापुर बजार घुम्न जाने पर्यटकका लागि टीकापुर उद्यान पहिलो रोजाइमा पर्छ । पर्यटकको आगमन बढेसँगै उद्यानको आम्दानीमा समेत वृद्धि भएको उद्यानका प्रमुख अर्जुन कुँवरले बताए ।

दशैँको समयमा प्रवेश शुल्कबापत उद्यानले ८९ हजार आम्दानी गरेको छ । देशका विभिन्न जिल्लाबाट दैनिक २०० देखि ५०० जनासम्म आन्तरिक पर्यटक पार्क अवलोकन गर्न आउने गरेका छन् ।

उद्यानमा प्रवेश शुल्कबापत आन्तरिक पर्यटकलाई प्रतिव्यक्ति २५, प्रतिविद्यार्थीका लागि १५, सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति १५० तथा सार्कबाहेकका राष्ट्रबाट आउने पर्यटकका लागि ३०० शुल्क तोकिएको छ । उद्यानमा कात्तिकदेखि जेठसम्म बढी पर्यटक घुम्न आउने गर्दछन् ।

दशैँ सकिएपनि यतिबेला वनभोज खान आउनेको उद्यानमा घुइँचो लागेको छ । विसं २०२८ मा स्थापना गरिएको सो उद्यानको नौ बिघामा फलफूल र फूलको बगैँचा छ । टीकापुर बजारदेखि दक्षिणपूर्वी क्षेत्रमा रहेको उक्त उद्यानमा तत्कालीन राजा महेन्द्रले एक महीना बसेर स्वास्थ्य लाभ गरेका गरेका थिए । उद्यानमा महेन्द्र आरोग्य गृह, वीरेन्द्र विश्राम बाटिका लगायतका संरचना छन् ।

प्रतिकृया दिनुहोस