बंगलादेशबाट एमबिबिएस सकेका ८७ र बिडिएसका शत प्रतिशतसम्म काउन्सिलमा फेल

सन् २०१६ को फेब्रुअरी अघि निजी खर्चमा विदेश पढ्न गएका ९५ प्रतिशत विद्यार्थी अयोग्य !

Nepal medical; councilanf

काठमाडौं । बंगलादेशका कलेजमा एमिबिबिएस र बिडिएस पढेर नेपाल फर्केका विद्यार्थीहरु नेपाल मेडिकल काउन्सिलले लिने लाइसेन्सिङ परीक्षामा शत प्रतिशतसम्म फेल हुने गरेको पाइएको छ ।

काउन्सिलले लिने लाइसेन्सिङ परीक्षामा बिडिएस तर्फका विद्यार्थी शत प्रतिशतसम्म र एमबिबिएस तर्फ भने ८७ प्रतिशतसम्म फेल भएको भेटिएको हो । काउन्सिलको लाइसेन्सिङ परीक्षा पास नभई चिकित्सकिय अभ्यास गर्न पाइँदैन ।

नेपाल तथा विदेशबाट एमबिबिएस र बिडिएस अध्ययन गरेका सबैले काउन्सिल परीक्षा पास गरेपछि डाक्टरको रुपमा काम गर्न पाउने छन् । काउन्सिलले एक वर्षमा ३ पटक लाइसेन्सिङ परीक्षा लिने गर्छ ।

काउन्सिलले सन् २०१७ डिसेम्बर २ मा लिएको एमबिबिएसको लाइसेन्सिङ परीक्षामा ८६ दशमलव ८० प्रतिशत विद्यार्थी फेल भएका छन् । लाइसेन्सिङ परीक्षाका लागि १ सय ४४ जनाले आवेदन दिएका थिए । तीमध्ये एक जना परीक्षामा अनुपस्थित भए । परीक्षा दिएका १ सय ४३ मध्ये जम्मा १८ जना मात्र पास भएका थिए । परीक्षामा १ सय २५ जना विद्यार्थी फेल भएको काउन्सिलका अध्यक्ष डा धर्मकान्त बास्कोटाले जानकारी दिए ।

सोही दिन लिइएको बिडिएस तर्फको परीक्षामा भने बंगलादेशमा अध्ययन गरेका शत प्रतिशत विद्यार्थी फेल भएका छन् । ६ जना विद्यार्थीले दिएको परीक्षामा ६ जना नै फेल भएका थिए । त्यसपछि सन् २०१८ मार्च ३१ मा भएको परीक्षामा पनि बिडिएसतर्फ धेरै विद्यार्थी फेल भएका छन् । ८ जनाले दिएको परीक्षामा ६ जना फेल भएका छन् भने जम्मा २ जना मात्र पास भएका छन् । बिडिएस तर्फ नै सन् २०१६ जुलाई ३० मा लिएको परीक्षामा पनि ८१ प्रतिशत विद्यार्थी फेल भएका छन् । १६ जनाले परीक्षामा दिएकोमा जम्मा ३ जना पास भएका थिए भने १३ जना फेल भएका थिए ।

यस्तै, सन् २०१७ कै अगस्ट ५ मा लिइएको परीक्षामा पनि एमबिबिएसतर्फ धेरै विद्यार्थी फेल भएका थिए। १ सय ६० जनाले दिएको परीक्षामा ९८ जना फेल भए भने जम्मा ६२ जना मात्र पास भएका छन् । बिडिएसतर्फ पनि १२ जनाले दिएको परीक्षामा ७ जना उत्तीर्ण हुन सकेनन् ।

एमबिबिएस तर्फ नै सन् २०१६ नोभेम्बर २६ मा लिएको परीक्षामा पनि ६१ प्रतिशत विद्यार्थी फेल भएका थिए। १०६ जनाले दिएको परीक्षामा ६५ जना फेल भएका थिए भने ४० जना मात्र पास भएका थिए ।

काउन्सिल अध्यक्ष डा बास्कोटा बंगलादेशका कमसल मेडिकल कलेजमा अध्यापन गरेका कारण विद्यार्थीको फेल प्रतिशत निकै माथि रहेको बताउँछन्। उनका अनुसार लाइसेन्सिङ परीक्षामा अहिले सहभागि भइरहेका विद्यार्थीहरु विगतमा नेपालको प्रवेश परीक्षा नदिई अध्ययनका लागि विदेशमा पुगेका कारण नतिजा कमजोर आएको हो ।

‘दालल र पैसाका भरमा विदेशका कमसल कलेजमा एमबिबिएस र बिडिएस अध्ययनका लागि गएका नेपाली विद्यार्थी सन् २०२२ सम्म नेपाल फर्कने छन्,’ उनले भने, ‘डाक्टर बन्नका लागि योग्य नै नभएका यस्ता विद्यार्थीले कस्तो डिग्री बोकेर आउँलान ? त्यसकारण नेपालमा अझै पाँच वर्ष गुणस्तरहिन डाक्टर भित्रिने खतरा छ ।’ उनले विदेशमा पढेर फर्केका धेरै डाक्टरी विद्यार्थी लाइसेन्सिङ परीक्षामा फेल हुनुको कारण पनि कमजोर विद्यार्थी र कमसल कलेज नै भएको बताए ।

डा बास्कोटाले गुणस्तरहिन र अदक्ष डाक्टरलाई नियमन गर्न काउन्सिलले नियमनलाई कडाई गर्दै लगेको समेत बताए। ‘हामी गुणस्तरमा कुनै कम्प्रमाइज हुन दिँदैनौं,’ उनले भने, ‘त्यसकारण विदेशमा कमजोर विद्यार्थी पढ्न नजाउन भनेर प्रवेश परीक्षा पास गर्नुपर्ने व्यवस्था गरेका छौं भने लाइसेन्सिङ परीक्षामा नक्कली विद्यार्थी आउन नदिन कानुन संशोधन गरिरहेका छौं ।’

अध्यक्ष डा बास्कोटाका अनुसार काउन्सिलले सुरुमै कमजोर विद्यार्थीलाई रोक्ने तर्फ ध्यान नदिँदा काउन्सिलको लाइसेन्सिङ परीक्षामा ७० प्रतिशत भन्दा बढी विद्यार्थी फेल हुने र नक्कली परीक्षार्थीले परीक्षा दिने अवस्था आएको हो । उनले समयमा नै मुहानलाई नरोक्दा नेपाल बाहिरको कुनै एक देशमा पढेर फर्केका दुई सय ९० जना विद्यार्थीले परीक्षा दिँदा २२ जना मात्र पास हुने अवस्था आएको बताए ।

सन् २०१६ फेब्रुअरी अघि निजी खर्चमा विदेश पढ्न गएका ९५ प्रतिशत विद्यार्थी अयोग्य !

विदेशका मेडिकल कलेज तथा विश्वविद्यालयमा एमबिबिएस र बिडिएस अध्ययनका लागि निजी खर्चमा गएका विद्यार्थीमध्ये ९५ प्रतिशत विद्यार्थी अयोग्य रहेको एक तथ्यांकले देखाएको छ ।

नेपाल मेडिकल काउन्सिलले विदेशमा अध्ययन गर्न गएका नेपाली विद्यार्थीहरुको आँकडालाई केलाएर तयार पारेको तथ्यांकले सो तथ्य देखाएको हो । काउन्सिलले सन् २०१६ को फेब्रुअरीदेखि नेपालमा प्रवेश परीक्षा पास भएपछि मात्र विदेशमा अध्ययनका लागि अनुमति दिन सुरु गरेको छ ।

उक्त व्यवस्था सुरु हुनुभन्दा दुई वर्ष अघिसम्मका सन् २०१४ र २०१५ का विद्यार्थीहरुको अध्ययनका क्रममा ९५ प्रतिशत विद्यार्थी एमबिबिएस र बिडिएस पढ्न अयोग्य रहेको फेला परेको हो । यी दुई वर्षमा मात्र नेपालबाट २८ सय ४० विद्यार्थी विभिन्न देशमा अध्ययनका लागि गएका छन् ।

काउन्सिलका अध्यक्ष डा धर्मकान्त बाँस्कोटाले ’५० प्रतिशत नम्बर पनि ल्याउन नसक्ने ९५ प्रतिशत विद्यार्थी कस्ता डाक्टर भएर आउलान्’ भनेर चिन्ता व्यक्त गरे । ‘हाम्रो अध्ययनले निकै डरलाग्दो तथ्यांक देखायो,’ उनले भने, ‘सन् २०१६ को फेब्रुअरीअघि अध्ययनका लागि गएका यस्ता अयोग्य विद्यार्थी सन् २०२१ मा डिग्री लिएर आउँछन् । ती कस्ता डाक्टर होलान्?’ काउन्सिलको लाइसेन्सिङ परीक्षामा ७० प्रतिशतभन्दा बढी विद्यार्थी फेल हुनुको कारण पनि यही रहेको उनी बताउँछन्।

नेपालमा फेल भएका विद्यार्थी पैसा बोकेर गएको भरमा डिग्री बोकेर आउने क्रम बढेपछि काउन्सिलले गत वर्षबाट एमबिबिएस र बिडिएस अध्ययन गर्न जानुअघि अनिवार्य प्रवेश परीक्षा पास हुनुपर्ने नियम लागू गरेको हो । प्रवेश परीक्षामा ५० प्रतिशतभन्दा बढी अंक ल्याएमात्र एमबिबिएस र बिडिएस पढ्न योग्य मानिन्छ ।

यो व्यवस्था लागू भएपछि अध्ययनका लागि विदेशिने विद्यार्थीको संख्या स्वाट्टै घटेको छ । काउन्सिलकै तथ्यांक अनुसार प्रवेश परीक्षा पास हुनुपर्ने व्यवस्थापछि विदेशमा अध्ययन गर्न जानेको संख्यामा ६७ प्रतिशतले कमी आएको छ ।

विद्यार्थीले विदेश अध्ययनका लागि काउन्सिलबाट अध्ययन अनुमति पत्र (इलिजिबिलिटी सर्टि्फिकेट) अनिवार्य रुपमा लिनुपर्ने प्रावधान छ । यसअघि विद्यार्थीले आवेदन मात्र दिए अनुमति पत्र पाउँथे भने गत वर्षदेखि कुनै विश्वविद्यालय वा प्रतिष्ठानले लिएको प्रवेश परीक्षा अनिवार्य पास गरेको हुनुपर्ने प्रावधान ल्याइएको छ ।

प्रवेश परीक्षाको व्यवस्था सुरु हुनुभन्दा अघिल्लो वर्ष अर्थात् सन् २०१५ मा काउन्सिलबाट विभिन्न ९ वटा देशमा अध्ययनका लागि एक हजार ४ सय ६१ जनाले अनुमति लिएका थिए। तर प्रवेश परीक्षा सुरु भएको वर्ष सन् २०१६ मा ११ वटा देशका लागि जम्मा ४ सय ७८ जनाले मात्र इलिजिबिलिटी लिएका छन् । काउन्सिलको तथ्यांक अनुसार सन् २०१६ मा एमबिबिएसका लागि ४ सय ६० र बिडिएसका लागि १८ जनाले इलिजिबिलिटी लिएका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...