त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्दै पर्यटनमन्त्री नागीडाँडामा

Kavre airport

काभ्रे । त्रिभुवन विमानस्थलको बढदो हवाई चापलाई स्थानन्तरण गर्न तयारी थालिएको छ । पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितको टोलीले मंगलबार काभ्रेको नागीडाँडा र ठूलीचौरको स्थलगत अवलोकन गरेको छ ।

मन्त्री अधिकारीसहितको टोलीले बनेपा नगरपालिकाभित्र पर्ने नागीडाँडा र धुलिखेल नगरपालिकामा पर्ने ठूलीचौरको स्थलगत अवलोकन गरेको थियो ।

यहाँ आइपुगेपछि स्थानीय जनप्रतिनिधिहरूले मन्त्री अधिकारीलाई धुलिखेलमै पर्ने चिसापानी ठूलीचौरको डाँडो पनि अवलोकन गराएका थिए । काठमाडौंबाट सबैभन्दा नजिक नागीडाँडा पर्छ । यसको दूरी २५ किलोमिटर रहेको छ ।

त्यसपछि ठूलीचौर ३५ किलोमिटर हाराहारीमा पर्छ भने बनेपा–बर्दिबास सडक खण्डसँग जोडिएको चिसापानी ठूलीचौर काठमाडौं विमानस्थलदेखि ४५ किलोमिटर हारहारीको दूरीमा छ ।

दुवै स्थान अवलोकनपछि आयोजित छलफलमा स्थानीय जनप्रतिनिधिहरूले ठूलीचौरको सट्टा नागीडाँडामा विमानस्थल बनाउन उपयुक्त हुने धारणा राखेका थिए । अहिले ठूलीचौर डाँडा आन्तरिक पर्यटकहरूको घुमफिर केन्द्र र पिकनिक स्पट बनेको छ ।

धुलिखेल बजारको शिरमा रहेको ठूलीचौर एक मात्र नजिकैको हरियो डाँडो भएकाले विमानस्थल निर्माण गर्न नसकिने जनप्रतिनिधिहरूले मन्त्री अधिकारीलाई औंल्याए ।

काभ्रेमा ठूलेचौर, नागीडाँडबाहेक (मन्डनदेउपुर) नगरकोट आसापास, पाँचखाल, भकुन्डेबेंसी पनि चर्चामा थिए । तर, प्राविधिकहरूले अन्य चार स्थानमध्ये नागीडाँडालाई धेरै कारणले उपयुक्त भनेका छन् । मन्त्रालयले यी पाँच स्थानमध्ये कुन स्थानमा विमानस्थल बनाउने भनी औपचारिक निर्णय गरिसकेको भने छैन ।

मन्त्री अधिकारीले प्राधिकरणका पूर्वइन्जिनियर कमल केसीको संयोजकत्वमा एउटा कमिटी बनाउँदै छन् । उक्त कमिटीको सिफारिसका आधारमा मात्रै स्थान तोकिनेछ । पर्यटनमन्त्री अधिकारीले यो कार्य केही दिनभित्रै हुने बताउँदै आगामी नीति तथा कार्यक्रममार्फत बजेट विनियोजन हुने भनेका छन् ।

प्रतिकृया दिनुहोस