सानदार जितपछि नेपाल पुग्यो साफ यू–२० वुमेन्स च्याम्पियनसिपको फाइनल

U 20 woman football team

काठमाडौं । नेपाल बंगलादेशमा भइरहेको साफ यू–२० वुमेन्स च्याम्पियनसिपको फाइनल यात्रा तय गरेको छ । नेपालले तीन खेलबाट दुई जित र एक हारसहित ६ अंक जोड्‍यो ।

नेपाल फाइनल पुगेको यो दोस्रो पटक हो । सन् २०१८ मा पहिलो पटक भएको च्याम्पियनसिपमा नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो ।

नेपालले बंगलादेशको राजधानी ढाकास्थित वीर श्रेष्ठ शाहिद सिपाही मुस्तफा कमाल स्टेडियममा मंगलबार भएको खेलमा उत्कृष्ट पुनरागमन गर्दै भारतलाई ३–१ ले हराएको हो । पहिलो हाफमा नेपाल एक गोलले पछाडि रहेको थियो ।

पहिलो हाफमा १-० ले पछि परेको अवस्थामा नेपालले दोस्रो हाफको तेस्रो मिनेटमा नै भारतीय गोलकिपरको कमजोरीको फाइदा उठाउँदै अञ्जली चन्दले बराबरी गोल फर्काइन् ।

खेलको ६७ औँ मिनेटमा भारतीय खेलाडीले डी-बक्सभित्र नेपाली खेलाडीलाई फाउल गरेपछि पाएको पेनाल्टीमा नेपालकी कप्तान प्रीति राईले गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाइन् ।

खेलको ८८ औँ मिनेटमा नेपालकी अमिषा कार्कीले अर्को गोल थप्दै नेपाललाई जित दिलाइन् । भारतका लागि खेलको पहिलो हाफको २० औँ मिनेटमा अपूर्ण नरजारीले गोल गरिन् । हारसँगै भारत प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपाल पहिलो खेलमा बंगलादेशसँग ३-१ ले पराजित भए पनि दोस्रो खेलमा भुटानलाई ४-० ले पराजित गरी ३ अंक जोडेको थियो । तेश्रो खेलमा आज नेपालले भारतलाई ३-१ ले पराजित गरेसँगै नेपाल ३ खेलबाट ६ अंक जोड्दै फाइनल पुगेको हो ।

भारतले पहिलो खेलमा भुटानलाई १२-० ले पराजित गरेर ३ अंक जोडेको भए पनि दोस्रो खेलमा आयोजक बंगलादेशसँग गोलरहीत बराबरी खेलेर १ अंकमात्र थप्न सक्यो । भारतले ३ खेलबाट जम्मा ४ अंक मात्र बटुल्न सक्यो ।

बंगलादेशको भने नेपालसँगको पहिलो खेलमा पाएको जितबाट ३ अंक र भारतसँग गोलरहित बराबरीबाट १ अंक बटुलेर जम्मा ४ अंक छ । आजको खेल बराबरी मात्र गरे पनि बंगलादेश फाइनल पुग्नेछ ।

प्रतिकृया दिनुहोस