साँझ मात्रै खुल्ने धनकुटाको छिन्ताङ मन्दिर अबदेखि दिउँसै खुल्ने

धनकुटा । देशकै चर्चित मन्दिर मध्येको धनकुटाको छिन्ताङ मन्दिर अबदेखि दिउँसै खुल्ने भएको छ । सबै मन्दिरहरुमा विहान पुजा हुने गरेको छ भने साँझ बन्द हुने गरेको छ । तर साँझ मात्र खुल्ने एक मात्र छिन्ताङ मन्दिर अब दिउँसो खुल्ने भएको हो ।
छिन्ताङदेवीको नामले चिनिएको धनकुटाको सहिदभुमी गाउँपालिका वडा नं. ३ मा रहेको जाल्पादेवी मन्दिरमा यही बैशाख १९ गते शुक्रबारदेखि लामो दिन हुने चैतदेखि असोजसम्म दिउँसो ३ बजे पुजा शुरु हुने भएको हो । अरुबेला साँझ ६ बजे खुलेर राती ८ बजेसम्म पुजा हुँदै आएकोमा अब साँझ ६ बजेसम्म पुजा सकिने छ ।
त्यसैगरी छोटा दिन भएको समय अर्थात् कात्तिकदेखि फागुनसम्म चाहिँ दिउँसो २ बजेबाट पुजा शुरु भई साँझ ५ बजे समापन गर्ने तयारी भइरहेको सामाजिक अभियान्ता ध्रुव थापाले जानकारी दिनुभयो ।
मन्दिरमा पुजा गर्ने समय परिवर्तन हुने भएपछि जिल्ला प्रशासन कार्यालय धनकुटा, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयलाई समेत जानकारी गराइसकेको उहाँले बताउनु भयो ।
यो मन्दिरमा दैनिक सयौं भक्तजन आउने गरेका छन् । यहाँ भक्तजन नआएको समयमा पुजारीले बलि दिने गरेका छन् । यो मन्दिरमा महिलालाई भने प्रवेश निषेध गरिएको छ । महिलाले प्रवेश गर्न नपाउने भएपछि मन्दिर प्रवेश द्धारमा देउराली बनाइएको छ । महिलाले त्यही पुजा गर्ने गरेका छन् ।
विशेषगरी मन्दिरमा बिहानको समयमा पूजाआजा गर्ने गरिन्छ । तर एउटा यस्तो मन्दिर छ, जसलाई साँझ परेपछि मात्रै पूजाआजाका लागि खुला गरिन्छ । जुन मन्दिर धनकुटाको सहिदभूमि गाउँपालिका ३ मा अवस्थित छ । छिन्ताङ जाल्पादेवी माता साँझ परेपछि मात्रै पूजाआजाका लागि खुला गरिने चर्चित मन्दिर हो । यस मन्दिरमा साँझ ५ बजेपछि मात्रै पूजाआजा गरिन्छ ।
सङ्खुवासभा जिल्लामा दिदी र धनकुटाको सहिदभूमिमा बहिनी रहेको विश्वासका साथ दुबैतिर फरक समयमा पुजा हुने गरेको स्थानीय अग्रजहरू बताउँछन् । जानकारहरूका अनुसार सङ्खुवासभामा रहेको मन्दिरमा बिहान पुजा गरिन्छ । उक्त मन्दिरमा पूजाआजा सकिएपछि मात्रै छिन्ताङ जाल्पादेवीमा पुजा सुरु गरिने परम्परा रहेको छ ।
यस मन्दिरमा औंसी र आइतबार बाहेक नियमित पुजा हुन्छ । मन्दिर रहेको स्थानमा एक अनौठो प्रजातीको रुख समेत रहेको छ । त्यही रुखको फेदमा मुख्य देवीको बसोवास रहेको विश्वास गरिन्छ ।
तर रुख कुन प्रजाति र कति पुरानो हो भनेर अहिलेसम्म पत्ता लाग्न नसकेको स्थानीय बताउँछन् । मनोकामना पुरा हुने विश्वासका साथ विभिन्न जिल्लाबाट दैनिक एक सय बढी दर्शनार्थीहरू आउने गरेका छन् ।
प्रतिकृया दिनुहोस