टी-२० विश्वकप उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड आज भिड्दै

Pak vs eng (1)

काठमाडौं । अष्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड आज भिड्दैछन् ।

फाइनल खेल मेलवर्न क्रिकेट ग्राउण्डमा नेपाली समय अनुसार पौने २ बजे सुरु हुनेछ ।

पाकिस्तानले सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले र इंग्ल्याण्डले भारतलाई १० विकेटले हराएर फाइनलमा स्थान बनाएको थियो।

दुवै पूर्व विजेता हुन् भने तेस्रो पटक टी-२० विश्वकप फाइनल खेल्दैछन् । यसअघि पाकिस्तान र इंग्ल्याण्डले एक-एक पटक उपाधि जित्दा एक-एक पटक फाइनलमा पराजित भएका छन् ।

यस पटक जो च्याम्पियन बनेपछि दुई पटक टी-२० विश्वकप जित्ने वेष्ट इन्डिजको कीर्तिमान बराबरी गर्नेछ ।

अहिलेसम्म ७ पटक टी-२० विश्वकप हुँदा वेष्ट इन्डिजले २ पटक जितेको छ भने पाकिस्तान र इंग्ल्याण्डसँगै भारत, श्रीलंका र अष्ट्रेलियाले समान १ पटक उपाधि जितेका छन् ।

फाइनलअघि पाकिस्तान र इंग्ल्याण्डका मुख्य खेलाडी लयमा फर्कुन दुवै टोलीका लागि सुखद छ । पाकिस्तान र इंग्लयाण्डका दुवै ओपनरले सेमिफाइनलमा अर्धशतक प्रहार गरे ।

पाकिस्तानको अलराउण्डर शदाब खानको प्रदर्शन मद्तवपूर्ण हुनेछ भने फकर जमन घाइते भएपछि टिममा समावेश युवा ब्याटर मोहम्मद ह्यारिसले पछिल्ला तीन खेलमा आक्रमक ब्याटिङ गर्दै आएका छन् ।

शाहिन शाह अफ्रिदीको नेतृत्वमा रहेको हरिस राउफ, नसिम शाह र मोहम्मद वासिमको पेस बलिङ अट्याक विपक्षीका लागि घातक बन्न सक्छ ।

उता इंग्ल्याण्डका लागि टप अर्डरका बलटर र हेल्ससहित अलराउण्ड स्टोक्स लयमा छन् । साम करन, क्रिस वोक्स र मार्क उड पेस बलिङमा छन् भने स्पीनमा आदिल रसिदलाई मोइन अली र लिया लिभङस्टोनले सघाउने छन् ।

सेमिफाइनलमा पहिलो खेल खेलेका ब्याटर फिल साल्टले ब्याटिङ गर्न पाएका छैनन् । फाइनलमा डेविड मालान र फिल साल्ट मध्ये एक खेल्नेछन् ।

इंग्ल्याण्डको ब्याटिङ गहिराई छ भने पाकिस्तानको बलिङ अट्याक उत्कृष्ट छ। त्यसैले फाइनल खेललाई इंग्ल्याण्डको ब्याटिङ भर्सेस पाकिस्तानको बलिङ भन्न मिल्नेछ ।

फाइनल हुने स्थान मेलवर्नमा वर्षाको सम्भावना भएकोले फाइनल खेललाई पनि असर गर्ने सम्भावना छ।

फाइनल खेलको लागि सोमबार रिजर्भ डे पनि राखिएको छ । फाइनल खेल सम्भव भएसम्म आइतबार नै सम्पन्न गर्ने प्रयास हुनेछ । यदी खेल सोमबारका लागि सरेमा आइतबार जित खेल खेलिएको छ त्यहीबाट सोमबार खेल सुरु हुने आईसीसीले जनाएको छ ।

यस्तै फाइनल खेल डिएल मेथडमा पूरा हुन पनि कम्तीमा दुवै टोलीले १०-१० ओभर खेल्नुपर्ने प्रतियोगिताको नियममा राखिएको छ।

यस्तो छ दुई टिमको फाइनल यात्रा

१, पाकिस्तान

सन् २००९ को च्याम्पियन पाकिस्तान सुपर १२ को पहिलो खेलमै चीर प्रतिद्वन्द्व भारतसँग अन्तिम बलको थ्रिलरमा पराजित भयो । दोस्रो खेलमा जिम्बावेसँग अप्रत्यासित रुपमा १ रनले स्तब्ध भएपछि पाकिस्तान सुपर १२ बाटै बाहिरिने खतार बढेको थियो ।

तर त्यसपछि पाकिस्तानले नेरल्याण्ड्सविरुद्ध जितपछि लय लियो । दक्षिण अफ्रिकामाथि शानदार जित निकाल्दै पाकिस्तानले सेमिफाइनलको आशा जविति राख्यो ।

अझ नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई स्तब्ध पारेपछि पाकिस्तानले मस्ट विन गेममा बंगलादेशलाई हराएपछि सेमिफाइनलमा स्थान बनायो ।

सुपर १२ को पाँच खेलमा जम्मा ३९ रन मात्र बनाएका ओपनर कप्तान आजामको लय पाकिस्तानको लागि चिन्ताकै विषयको रुपमा थियो । तर, सेमिफाइनलमा बाबर र विकेटकिपर मोहम्द रिजावनको ओपनिङ जोडीले शतकिय साझेदारी गर्दै न्युजिल्याण्डलाई ७ विकेटले हराउन मद्त गरे ।

पाकिस्तानको नतिजा

भारतविरुद्ध ४ विकेटले पराजित

जिम्बावेविरुद्ध १ रनले पराजित

नेदरल्याण्ड्सविरुद्ध ६ विकेटले विजयी

दक्षिण अफ्रिकाविरुद्ध ३३ रनले विजयी

बंगलादेशविरुद्ध ५ विकेटले विजयी

सेमिफाइनलमा न्युजिल्याण्ड विरुद्ध ७ विकेटले विजयी

२, इंग्ल्याण्ड

जस बटलर युगको इंग्ल्याण्डले पहिलो खेलमा अफगानिस्तानलाई ११२ रनमा रोक्दै जित निकाल्यो । रन बनाउन केही संघर्ष गरेपनि जितसहित प्रतियोगिताको सुरुवात गर्दै उपाधि दाबेदारको रुपमा आफुलाई अगाडि बढाएको थियो ।

तर, दोस्रो खेल वर्षाले प्रभावित भएपछि इंग्ल्याण्ड छिमेकी आयरल्याण्डसँग डकवर्थ लेविस प्रणालीको आधारमा ५ रनले स्तब्ध बन्यो । वर्षाकै कारण अष्ट्रेलिया विरुद्धको खेल टस नभई रद्ध भएपछि इंग्ल्याण्डको खातामा ३ खेलबाट जम्मा ३ अंक थियो ।

यस्तो अवस्थामा जोस बटलर र एलेक्स हेल्सले अर्धशतक प्रहार गरेपछि इंग्ल्याण्डले अपराजित न्यजिल्याण्डलाई पहिलो हार चखायो । त्यसपछि स्टार अलराउण्ड बेन स्टोक्सको संयमित ब्याटिङमा श्रीलंकालाई ४ विकेटले हराएपछि इंग्लयाण्डले सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।

सेमिफाइनलमा कप्तान जोस बटलर एलेक्स हलेस चम्कँदा इंग्ल्याण्डले भारत विरुद्धको खेल एकपक्षीय शैलीमा जितेको थियो ।

इंग्ल्याण्डको नतिजा

अफगानिस्तानविरुद्ध ५ विकेटले विजयी

आयरल्याण्डविरुद्ध ५ रनले पराजित (डीएल प्रणाली)

अष्ट्रेलियाविरुद्धको खेल रद्ध

न्युजिल्याण्डविरुद्ध २० रनले विजयी

श्रीलंकाविरुद्ध ४ विकेटले विजयी

सेमिफाइनलमा भारत विरुद्ध १० विकेटले विजयी

 

प्रतिकृया दिनुहोस