खेलकुदको कुम्भ मेला आजदेखि : नवौँ राष्ट्रिय खेलकुदमा ४ सय ४ स्वर्णका लागि ६ हजार १ सय ५७ खेलाडी

Pokhara rangshala

पोखरा । बहुप्रतिक्षित नेपाली खेलकुदको सर्वोच्च प्रतियोगिता नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक उदघाटन आज कास्कीको पोखरा रंगशालामा हुँदैछ ।

गण्डकी देशको राजधानी सहर पोखरा पोखरा रङ्गशालामा अपराह्न ४ः०० बजे हजारौँको उपस्थितिमा भव्य उद्घाटन हुने प्रतियोगिताको सबै तयारी सकिएको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । नवौं राष्ट्रिय प्रतियोगितामा ३९३ स्वर्ण, ३९३ रजत र ६०० काँस्य पदकका लागि प्रतिस्पर्धा हुने छ ।

राष्ट्रिय खेलकुद प्रतियोगिता विसं २०३८ देखि सुरु भएको थियो । दोस्रो संस्करणको आयोजना २०४० सालमा पोखरामा आयोजना भएको थियो । त्यसको चार दशकपछि नवौं राष्ट्रिय खेलकुद पनि पोखरामै हुन लागेको हो । आठ हजार खेलाडी तथा अफिसियलसहित १० हजारभन्दा बढी व्यक्ति पोखरामा भेला भएका छन् ।

उद्घाटन समारोहसहित आज प्रतियोगिताका विभिन्न आठ खेल सुरु हुँदैछन् । कतिपय खेल यसअगावै सुरु भएर अहिले जारी छन् भने कतिपय असोज २९ देखि सुरु हुने खेलतालिका रहेको छ । टेनिस, बक्सिङ, भलिबल पुरुष, सफ्टटेनिस, बास्केटबल पुरुष र साइक्लिङ पोखरा रङ्गशालामा आजदेखि सञ्चालन हुनेछन् । यसैगरी तनहुँमा महिला बास्केटबल, म्याग्दीमा तेक्वान्दो र सुटिङ काठमाडौँमा हुनेछ ।

राष्ट्रिय खेलकुदका ३६ खेलमध्ये क्रिकेट महिला, फुटबल महिला तथा पुरुष, भलिबल महिला, महिला तथा पुरुष ह्याण्डबल, फेन्सिङ, फुल कन्ट्याक्ट कराते, बुद्धिचाल, महिला तथा पुरुष हक्की र गल्फका खेल यसअघि नै सुरु भएका छन् । हालसम्मको पदक तालिकामा विभागीय नेपाली सेनाले अग्रता बनाएको छ । सेना चार स्वर्ण, छ रजत र सात कास्य पदकसहित शीर्षस्थानमा रहँदा बागमती प्रदेशले चार स्वर्ण र तीन रजत गरी सात पदक जितेर सेनालाई पछ्याइरहेको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले अपराह्न साढे तीन बजे विशेष समरोहका बीच राष्ट्रिय खेलकुद प्रतियोगिताको उदघाटन गर्नेछन् । उदघाटन समारोहको सबै किसिमको तयारी सकिएको नवौं राष्ट्रिय खेलकुद, प्रचारप्रसार उपसमितिका संयोजक दीपेन्द्र विष्टले जानकारी दिए ।

पालमा विसं २०३८ देखि राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको हो । राष्ट्रिय खेलकुद आयोजनाले चार दशक पार गरिसकेको छ । हेरक दुई–दुई वर्षमा राष्ट्रिय खेलकुद हुने भए पनि राजनीतिक तथा विभिन्न कारणले सोअनुसार हुनसकेको छैन । राष्ट्रिय खेलुदको पहिलो संस्करण विसं २०३८ भदौ २७ देखि असोज ४ सम्म राजधानी काठमाडौँमा भएको थियो । सुरुआतमा देशका १४ अञ्चलको प्रतिनिधित्व हुने गरी प्रतियोगिता सञ्चालन हुने गरेको थियो ।

विसं २०४० मा पोखरामा दोस्रो संस्करण हुँदा, विसं २०४२ मा तेस्रो संस्करण वीरगञ्जमा भएको थियो । तेस्रो आयोजनाको १३ वर्षपछि विसं २०५३ मा नेपालगञ्जमा चौथो संस्करणको राष्ट्रिय खेलकुद आयोजना गरियो । गणतन्त्र स्थापनापछि विसं २०६५ मा राजधानी काठमाडौँमा पाँचौँ संस्करण भयो ।

सुदूरपश्चिममा विसं २०६८ मा छैटौँ संस्करणको राष्ट्रिय खेलकुद भएकामा सातौँ संस्करण विराटनगरमा विसं २०७३ मा आयोजना गरियो । नेपालगञ्जमा विसं २०७५ चैतमा आठौँ राष्ट्रिय खेलकुद भएको थियो । आठौँ राष्ट्रिय खेलकुदको साढे तीन वर्षपछि गण्डकी प्रदेशमा अहिले नवौँ सुरु भएको हो ।

 

 

प्रतिकृया दिनुहोस