देशभरका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै

Nirwachan aayog bilding

काठमाडौँ । स्थानीय तह निर्वाचन गराउन ७ सय ५३ स्थानीय तहमा बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिँदै छ । निर्वाचन अधिकृतहरू नियुक्तिपत्र लिएर पालिकास्तरमा खटिइसकेका छन् ।

हरेक जिल्लामा एक जना मुख्य निर्वाचन अधिकृत हुन्छन् । मुख्य निर्वाचन अधिकृतले जिल्ला सदरमुकाम रहेको गाउँपालिका वा नगरपालिकाको केन्द्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नेछन् । अन्य पालिकामा निर्वाचन अधिकृतको कार्यालय रहनेछन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन अधिकृतको कार्यालयले मतदान केन्द्रमा रहेका समस्या, आचारसंहिता पालनाको अवस्थासमेत निर्वाचन अधिकृतको कार्यालयले हेर्ने बताए ।

कार्यालय स्थापना गर्दा सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, सम्बन्धित जिल्लाको निर्वाचन कार्यालय, अन्य कुनै सरकारी कार्यालय र सरकारी स्वामित्वमा रहेको कार्यालयको भवन प्रयोग गर्नुपर्ने सर्त निर्वाचन आयोगले तोकेको छ । सरकारी भवन उपलब्ध नभए मात्र भाडाको घर लिनुपर्ने हुन्छ ।

निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, सहायक कर्मचारी, लेखापाल, कम्प्युटर अपरेटर, सवारी चालक, कार्यालय सहयोगी, पीएसओ (निजी सुरक्षा अधिकारी) सहित नौ जना कर्मचारी रहनेछन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पनि नौ जनै कर्मचारी रहनेछन् ।

 

प्रतिकृया दिनुहोस