उतिबेलाको भावनालाई फैल्याउन सके कहाँ आजको जस्तो जातीय चिसोपना हुन्थ्यो र ?

Kamal kumar shankar

आज बैशाख १० गते । तेह्रथुम जिल्लाको मेन्छायायेम गाउँपालिकामा अवस्थित जनप्रिय माध्यमिक विद्यालयको बार्षिकउत्सव । मेरो बाल्यकालदेखि ढल्किदो उमेरसम्मै यो दिनलाई चाड कै रूपमा लिने गर्छु । विसं २०१७ सालमा जनप्रिय विद्यालय स्थापना हुँदा म ८ बर्षको थिएँ । उस बेला जंगलको छेउमा गाउँ कै झिंगटीले छाएको सानो चार कोठे भवन बनेको थियो । जंगलको छेउमा भएकोले साँझ बिहान स्कुलको वरिपरी जान मान्छेहरू डराउथे । केहि समयपछि विद्यालयको छेवैमा एकदुई वटा फलैचा र चौतारो बनेपछि मान्छेहरूको आवजजावत बढ्न थाल्यो ।

उसबेला अहिले जस्तो मान्छेहरू शिक्षामा चासो दिँदैनथे । तर पनि घर छेउको स्कुल भएकोले म पनि सोही विद्यालयमा पढें । तर घरको कामले गर्दा प्राथमिक तहभन्दा माथि पढ्न सकिनँ । यदि यो विद्यालय थिएन भने मैले यति पनि पढ् पाउने थिइनँ होला । त्यतिवेला मलाई खगिन्द्र पण्डित, परमानन्द दुलाल, विष्णुप्रसाद ढकाल, निला ओझा, छत्रपति ढकाल पढाउनु हुन्थ्यो । मेघनाथ घिमिरे, राजेन्द्र ढकाल, तीर्थप्रसाद ढकाल, माधव दाहाल, चुडामणी ढकाल विद्यालयमा पढ्दाका मेरा बाल सहेली हुन् ।

माधव दाहाल अहिले पण्डित भएका छन् । उनले भारतको बनारसमा पढेर फर्केपछि यहि स्कुलमा पढाउने पनि मौका पाएका थिए । राजेन्द्र ढकाल गाविस सचिव भए । तीर्थप्रसाद ढकाल र चुडामणी ढकाल गाउँमै समाज सेवा गर्छन् । म पनि लामो समय उहाँहरू सँगै गाउँमा बसेर समाज सेवामा थिएँ । तर बाध्यताले गर्दा झण्डै एक वर्षदेखि म भक्तपुरमा बस्दै आएको छु । बेलाबेला म गाउँ गइरहन्छु र काठमाडौं बस्दा पनि गाउँका साथीभाईसँग गाउँको विषयमा कुराकानी भइरहन्छ ।

हामी साथिभाईबीच राम्रो सम्बन्ध छ । मैले शिक्षा आर्जन गरेको विद्यालयप्रति मलाई औधी माया छ । हिजोआज पनि मलाई गर्व लाग्छ, यहि विद्यालयले गर्दा म निरक्षर हुनु परेन । त्यतिबेला म हजुरबा हजुरआमासँग बस्थे । मेरी हजुरआमा रोगी र अशक्त भएको कारणले मैले नै उहाँलाई हेरचाह गर्नु पथ्र्याे । त्यसैले मैले पूरा समय विद्यालय जान पाइनँ । म यतिवेला पनि सम्झिन्छु यतिबेलाका नातीहरूले कहाँ त्यसरी हजुरबा हजुरआमाको स्याहारसुसार गर्छन् होला र ?

त्यतिवेला छोरीहरूले विद्यालयमा जानु हुँदैन भन्ने चलन थियो । त्यसैले एउटा पनि केटीहरू विद्यालयमा देखिँदैन थिए । बुहारीहरू पढ्ने कुरो त धेरै परको कुरा थियो । अनि विद्यार्थी पनि त ठुल्ठुला हुन्थे । १० कक्षामा पढ्ने मान्छे जुंगामुठे भइसकेका हुन्थेत । हामी उसबेला विद्यालयमा कपड्डी खेल्थ्यौं । कबड्डी र चट्टी खेल खुबै प्रख्यात थियो । तर अहिले पढ्ने पढाउने कुरामा धेरै परिवर्तन आएको छ । सबै कक्षामा अहिले केटीहरू पढ्छन् ।

यहि विद्यालयमा कक्षा ११ र १२ कक्षामा पढ्ने धेरै छोरी र बुहारी छन् । अहिले १० कक्षा पास गर्ने १४/१५ वर्षका पो हुन्छन् । अनि पढाइ पनि उसबेला धेरै फरक हुन्थ्यो । राजा र रानीका कथा र कहानी धेरै पढाउँथे । सबै कितावमा राजा महेन्द्रका तस्बिरहरू हुन्थे । उ बेला राजाको भक्तिगान हुन्थ्यो । अहिले मान्छे जातपातका कुरा गर्छन् । उतिबेला पनि थियो जातिपाति । तर किताबमा चाहिँ राम्रो कुरा लेखेको हुन्थ्यो । हाम्रो तीन कक्षाको कितावमा लेखिएको कविता मलाई अझैं याद छ ।

गुरूङ, नेवार, बाहुन
क्षेत्री, सुनार, ढकाल
सबै एकै जाती हौं ।
देशको भलो मान्दछौं ।

उतिबेलाको यो भावनालाई आज पनि फैल्याउन सके कहाँ आजको जस्तो जातीय चिसोपना हुन्थ्यो र ? हामीले यहि भावनालाई विकास गर्न सके सायद देशमा समानता भैहाल्थ्यो नि ।

समाजको आर्थिक अवस्थाकै कुरा गर्ने हो भने समाज त्योबेला अहिले जस्तो कहाँ सम्पन्न थियो र ? निकै दरिद्र पो थियो त । खुट्टामा चप्पल लाउने मान्छे भेट्न निकै गाह्रो थियो । जुत्तामोजा र घडी लगाउनेलाई उहिले निकै हुनेखाने ठान्ने गरिन्थ्यो । गाउँमा जिल्लाबाट मान्छे आए भने खान दिने र बास दिने औकात कमैको हुन्थ्यो । गाउँमा मान्छे अहिले जस्तो शिक्षित थिएनन् । सरसरफाई पनि आजको जस्तो थिएन । तर हिजो आज धेरै परिवर्तन भएको छ ।

गाउँमा दरिद्रता हटेको छ । प्रायः सबैका घरमा खान लाउनको समस्या छैन । सुटबुट लगाएका मान्छे खोज्न टाढा जानै पर्दैन । हिजो आज खाली खुट्टाले हिड्ने मान्छे त भेटिन मुस्किल पर्छ । सबैका घरमा शौचालय छ, अनि सरसफाई पनि त्यतिकै राम्रो छ । यहि बिद्यालयको कारणले गर्दा धेरै मान्छेहरू शिक्षित भएका छन् । धेरै छोराछोरीहरूले शिक्षामा प्रगति गरेका छन् । कोही शिक्षक भएका छन् । कोही प्रशासक छन्, कोही बैंकका हाकिम भएका छन्, कोही पत्रकार छन् त कोही अन्तर्रष्ट्रिय संघसस्थामा जागिर खान्छन् । यहि विद्यालयमा पढेर धेरै भाई–छोराहरू विदेशमा गएर पनि रामै काम गर्ने भएका छन् । यो सबै प्रगति यहि विद्यालयको करणले भएको हो ।

यो विद्यालयलाई यहाँसम्म ल्याउन धेरै मेहनेत परेको छ । निमावि चलाउन यहाँका शिक्षकहरूको धेरै ठूलो लगाव भए पनि मावि चलाउन भने हाम्रो ठूलो लागानी छ । स्थानीय अनुदानबाट मावि चलाउन आजभन्दा २५/२६ वर्ष पहिले हामीलाई निकै हम्मेहम्मे परेको थियो । उतिबेला गाउँमा यसबेला जस्तो सबैसँग नगद पैसा हुँदैन थियो । त्यसैले कसैले गोरू बेचेर, कसैले खसी बेचेर विद्यालयलाई चन्दा दियौं । दुःख जिलो गरेर गाउँमा मावि उभ्याएपछि हामीलाई पनि वल्लो–पल्लो गाउँमा जाँदा पौठाकमा पनि मावि बन्यो भनेर बधाई दिन्थे । गाउँमा मावि भएकोले हामीलाई छोराछोरी पढाउन सजिलो भयो । नत्र यहाँबाट झण्डै एक घण्टाको बाटो मोराहाङमा पठाउनु पथ्र्यो । यसरी गाउँमा मावि नभएको भए छोरीहरूले पढ्ने नै थिएनन् होला । छोरीचेलीलाई टाढाको बाटोमा पढाउन कहाँ त्यति सजिलो थियो र असुरक्षा पनि त्यति कै हुन्थ्यो ।

तर दुःखको कुरा, यो गाउँमा युवा पुस्ताको मन पटक्कै अडिएन । पुरानो पुस्ता उमेर र शारिरीक अवस्थाका कारणले गरिखान नसक्ने भइसकेका छन् । यो विद्यालयबाट पढेका पछिल्लो पुस्ताका युवाहरूलाई शहरको रमझममा रमाउने बानी भएर होला सायद गाउँ फर्किने मनै गर्दैनन् । त्यसैले हिजोआज विद्यालयको ब्यवस्थापन समिति पनि पुरानै पुस्ताले धान्दै आएका छ । जुन पुस्ता आजभन्दा २० बर्षअघि पनि यहि समितिमा थियो । नयाँ सोच र बिचारका नयाँ पुस्ताका मान्छेहरू आए विद्यालय नयाँ तरीकाले चल्थ्यो ।

हामी जहाँ रहे पनि, जस्तो अवस्थामा रहे पनि यस विद्यालयप्रति हाम्रो माया छ । किनकी हामीले त हाम्रो जवानी उमेरको मेहनेत यहि लगाएका छौं । मलाई अझैं पनि गाउँ मै बसेर केही गर्छु जस्तो लाग्छ । तर नयाँ पुस्ताले यहाँ आएर विद्यालयलाई योगदान गर्न नसके पनि उनीहरूले पढेको ठाउँलाई कहिल्यै नभुलुन् । त्यसका लागि विद्यालय व्यवस्थापन समितिले वार्षिक उत्सवका बेला युवा पुस्तालाई पनि ठाउँ दिनसक्नुपर्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटा कांग्रेसको नेतृत्व दिनेश राईको पोल्टामा, पौडेल पक्ष धनकुटामा निरीह सावित

Dinesh rai dkt

धनकुटा । लामो समयको रस्साकस्सीपछि नेपाली कांग्रेस धनकुटाको सभापतिमा दिनेश राईले बाजी मारेका छन् ।...