विश्वकप क्रिकेट: श्रीलंकालाई हराउँदै अष्ट्रेलिया शीर्ष स्थानमा

एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले चौंथो जित निकालेको छ । लण्डनमा शनिबार भएको खेलमा श्रीलंकालाई ८७ रनले पराजित गर्दै अष्ट्रेलियाले चौंथो जित निकालेको हो । 

केनिङटन मैदानमा अष्ट्रेलियाले दिएको ३३५ रनको फराकिलो लक्ष्य पछ्याएको श्रीलंका ४५ ओभर ५ बलमा अलआउट हुँदै २४७ रनमा समेटियो । कप्तान दिमुथ करुनारत्नेले ९७ रनको अर्धशतकीय इनिङ्स खेलेपनि श्रीलंकालाई हारबाट जोगाउन सकेनन् । कुशल परेराले ५२ रनको अर्धशतकीय इनिङ्स खेले ।  यस्तै कुशल मेन्डिसले ३० रन बनाए ।

श्रीलंकालाई सस्तैमा रोक्न अष्ट्रेलियाका मिचेल स्टार्कले ४ विकेट लिए । केन रिचार्डसनले ३ तथा पाट कुम्निसले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पुरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर ३३४ रन बनाएको थियो ।

अष्ट्रेलियाको फराकिलो स्कोरमा कप्तान आरोन फिन्चले शतकीय इनिङ्स खेले । फिन्चले १५३ रन बनाए । यस्तै स्टिभ स्मिथले ७३ रनको अर्धशतकीय इनिङ्स खेल्दा ग्लेन म्याक्सवेलले अविजित ४६ रन बनाए । डेभिड वार्नर २६ रनमा आउट भए ।

श्रीलंकाका इशुरु उडाना र धनन्जय डी सिल्भाले २/२ विकेट लिए । यो जितसंगै अष्ट्रेलिया तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । अष्ट्रेलियाले ५ खेलबाट ४ जित र १ हारसहित ८ अंक जोडेको छ ।

श्रीलंकाको यो दोस्रो हार हो । ५ खेलमा १ जित, २ हार र २ बराबरी खेलेको श्रीलंकाको ४ अंक छ ।

प्रतिकृया दिनुहोस