जेठभित्रै शिक्षण अनुमति पत्र (लाइसेन्स) को परीक्षाका लागि विज्ञापन खुल्ने, सास्ती र खर्च कटौती

काठमाडौँ । शिक्षक सेवा आयोगले विद्यालय शिक्षाका माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तीनै तहका लागि जेठभित्रै शिक्षण अनुमति पत्र (लाइसेन्स) को परीक्षाका लागि विज्ञापन खुल्ने जनाएको छ ।

२०७५ चैतभित्रै लाइसेन्सको विज्ञापन खोल्ने तयारी गरेपनि अनलाइनबाटै फारम भर्ने व्यवस्था गर्न लागिएकाले सोका लागि परीक्षण गर्दा गर्दै केही ढिलाई भएको आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलियाले बताए । 

आयोगले परीक्षा फारम अनलाइनबाटै भर्ने व्यवस्था गर्दैछ । अहिलेसम्म परीक्षार्थी जुन जिल्लाको हो, सोही जिल्लामा गई दरखास्त दिनुपर्ने बाध्यता थियो । यसो गर्दा परीक्षार्थीले शास्ती र खर्च दुबै ब्यहोर्नु परेको छ । यो ब्यबस्था लागु गराउन तयारी गर्दा ढिलाई भएको श्रोतको भनाई छ । 

त्यस्तै आयोगले माध्यमिक र निम्नमाध्यमिक तहका लागि विषयगत परीक्षा लिनेछ । यसका लागि नयाँ पाठ्यक्रम तयार पारेको छ । शिक्षक सेवा आयोगले अब वस्तुगत प्रश्नको उत्तर मेसिनबाटै परीक्षण गर्ने तयारी गर्न लागेको पनि जनाएको छ । परीक्षाको विश्वसनीयता बढाउन यसो गर्न लागिएको हो ।

अहिलेसम्म आयोगको परीक्षा दिएर करिव ७ लाख व्यक्तिसित शिक्षण लाइसेन्स भएको बताइएको छ । यीमध्ये एकैजनाले तीन तहको लाइसेन्स लिनेहरुको संख्या पनि उल्लेखनीय छ । कोही ४० वर्ष नाघेका र कतिचाहिँ अर्को पेशामा गइसकेकाले ७ लाख जना नै शिक्षक हुन तयार जनशक्ति भने अहिले नभएको आयोगको ठम्याई छ ।

प्रतिकृया दिनुहोस