रौद्ररूपी शिक्षिका, जसको कुटाईले भाँचियो पाँच जना विद्यार्थीको हात

औधषी गर्ने सर्तमा गुपचुप राख्ने प्रयास

रोल्पा । विद्यालय सिकाईको थलो हो । शिक्षक शिक्षिका ज्ञानका भण्डार हुन् । जसले कुबाटोमा लागेकालाई सही ज्ञान दिएर सही मार्गमा हिड्न आँखा खुलाइ दिन्छन् । तर रोल्पाकी एक शिक्षिका, जसले १४ जना विद्यार्थीलाई दानवीय शैलीले कुटपिट गरिन्, केहीको हातै भाँचिने गरी । 

रोल्पाको रुम्टीगढी गाउँपालिका–८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनले विद्यालयमा ढिलो गरी आएको भन्दै विद्यार्थीमाथि निर्मम ढैगले कुटपिट गरिन् । उनको निर्मम कुटाइबाट १४ जना विद्यार्थी घाइते भएका छन् भने घाइतेमध्ये कतिपयको हात नै भाँचिएको छ । 

घाइते हुनेमा कक्षा १ मा पढ्नेदेखि ८ कक्षासम्म पढ्ने विद्यार्थी छन् । शिक्षिकाको कुटाइबाट घाइते हुने अन्य विद्यार्थीमा प्रेम पुन, सन्तोष बुढा मगर, दीपा बाँठा, वीरबहादुर घर्ती, अरुणा पुन, सुशीला विक, विपना घर्ती, मनकुमारी घर्ती र पूर्णकली छन् । 

घाइतेमध्ये भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र विमला रोकाको हात आइतबार दाङको तुलसीपुरस्थित सहारा पोलिक्लिनिकमा प्लास्टर गरिएको छ । उपचारमा संलग्न डा. घनश्याम शर्माका अनुसार घाइते बालिकाको जोर्नी, नाडी, कुइनो र कुममा समस्या देखिएको एवं अनुहार तथा हातसमेत सुन्निएको छ । 

केही समयअघि उनै शिक्षिकाको कुटाइबाट कक्षा ३ मा पढ्ने नरबहादुरको कानको जाली फुटेर सुन्न छोडेको विद्यार्थीले बताएका छन् । वडाध्यक्ष भीमबहादुर घर्तीको रोहवरमा औषधि उपचार गर्ने सहमतिमा मिलापत्र गराइएको छ ।  

दुखाइका कारण रातदिन सताउने र लेख्न, पढ्नसमेत नसकेको अभिभावक प्रताप घर्तीले बताउँछन् । शिक्षिका पुनले विद्यालय ढिलो आएको भन्दै अन्धाधुन्ध लौराले कुटेको घाइते बालिका भीमकुमारी बाँठाले बताइन् ।

प्रतिकृया दिनुहोस