त्रिविको यस्तो बदमासी : लिखित मै पहुँचवालाका मान्छे

अख्तियारमा उजुरी परेपछि परीक्षा विवादको घेरामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत त्रिवि सेवा आयोगले लिएको परीक्षामा अनियमितता भएको आशंका गर्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको खुला प्रतिस्पर्धामा त्रिविकै उच्च पदाधिकारी, विद्यार्थी संघ–संगठन र नेताका नातेदारहरूको नाम निस्किएको छ । लिखित परीक्षामा उत्तीर्ण हुनेमा धेरैजसो पहुँचवालाका आफन्त परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा यसबारे उजुरी परेको हो ।

आयोगले २०७५ जेठमा खुला प्रतियोगिताअन्तर्गत प्रशासनिक तथा प्राविधिक तहका विभिन्न पदमा परीक्षा लिएको थियो । परीक्षा लिएको १० महिनापछि १४ वैशाखमा नतिजा सार्वजनिक भएको थियो । लिखित परीक्षाको नतिजा सार्वजनिक भएलगत्तै आयोगका पदाधिकारीहरूले आफू निकट तथा उच्च राजनीतिक नेतृत्वको दबाबमा केही व्यक्तिलाई उत्तीर्ण गराएको भन्दै त्यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो । 

त्रिविका कर्मचारी संघ–संगठन र परीक्षामा सहभागी केही विद्यार्थीले आयोग, केन्द्र, कुलपति, उपकुलपति कार्यालयलगायत त्रिविकै विभिन्न निकायमा समेत उजुरी दिएका छन् । अख्तियारमा उजुरी परेलगत्तै परीक्षा विवादको घेरामा तानिएको छ । 

त्रिवि सेवा आयोग अध्यक्ष चैतन्य शर्मा, प्रमुख परशुराम कोइराला, त्रिवि केन्द्रीय क्याम्पसका प्रिन्सिपल कृष्ण आचार्य, पूर्वरजिस्ट्रार चन्द्रमणि पौडेल, अनुगमन महाशाखाका प्रमुख विष्णुप्रसाद खनाल लगायतका उच्च पदाधिकारीका नातेदारहरू परीक्षामा सफल भएका छन् । आयोग कार्यालयबाट प्राप्त एक सूचीमा अध्यक्ष शर्माकी भतिजी पार्वती सापकोटाको नाम शाखा अधिकृत र मुख्य कार्यालय सहायक दुवै पदमा निस्केको छ । 

त्रिवि सेवा आयोगले लिएको परीक्षामा आयोगका पदाधिकारीहरूले पदको दुरुपयोग गर्दै लिखित परीक्षाको नतिजा प्रकाशन गरेको भन्दै अख्तियारमा उजुरी परेको हो । उजुरीको बोधार्थ राष्ट्रिय सतर्कता केन्द्रमा समेत बुझाइएको छ ।

उजुरी पत्रमा भनिएको छ, ‘अध्यक्ष प्राध्यापक चैतन्य शर्मा र आयोगका प्रशासन प्रमुख परशुराम कोइरालाका आफन्तले परीक्षामा आवेदन दिँदै गर्दा नैतिक रूपमा सोही पदमा जिम्मेवारी लिनु र परीक्षामा प्रत्यक्ष संलग्न हुनुले नैतिक र कानुनी रूपमा जायज र नियमसंगत देखिएन ।’

उजुरीपत्रमा अन्तर्वार्ताका लागि सूचित गरेको आवेदकको सूचीमा आयोगका वहालवाला पदाधिकारी तथा कर्मचारी र विभिन्न संघ संगठनका प्रमुख नेताका आफन्तलाई सफल बनाएको उल्लेख छ । त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य शर्माले भने निष्पक्ष रूपमा परीक्षा सञ्चालन गरेको र सोहीअनुरूप नतिजा आएको दाबी गरे ।

उजुरीपत्रमा लोकसेवा आयोगले लिने दस्तुरभन्दा अत्यधिक दस्तुर लिई अनियमितता गर्ने माथि छानबिनको माग गरिएको छ । एक विद्यार्थीले राजधानीसँग भने, ‘शाखा अधिकृत पदको उत्तरपुस्तिकाबाट प्राप्त गरेको प्राप्तांकको प्रतिलिपि पाऊँ भन्दै त्रिवि सेवा आयोगमा निवेदन दिएको छु ।’ आयोगले परीक्षार्थीहरूलाई अन्तर्वार्ताका लागि आज २९ वैशाखदेखि १९ जेठसम्म बोलाएको छ ।

आयोगले विज्ञापन नम्बर १८/२०७३/२०७४ मा विभिन्न पदमा खुला विज्ञापन गरेको थियो । वैशाख १३ मा प्रकाशित नतिजाको अन्तर्वार्ता आइतबारदेखिहुने भनिएको छ । प्रशासनिक तथा प्राविधिक पदमा सफल उम्मेदवारको रोल नम्बरको सूची प्रकाशन गरिएको छ । नामसहितको सूची आयोगको वेबसाइटमा भने राखिएको छैन ।

शिक्षकको नियुक्ति तथा बढुवा गर्दा प्राज्ञिक क्षमता र अनुभवलाई र कर्मचारीको नियुक्ति तथा बढुवा गर्दा प्रशासनिक दक्षता तथा अनुभवलाई मुख्य आधार बनाउने व्यवस्था त्रिभुवन विश्वविद्यालय ऐन २०४९ मा गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...