आईपीएल: बैंगलोर र राजस्थानबीचको खेल रद्द, बैंगलोर बाहिरियो

एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्सबीचको खेल रद्द भएको छ । 

बैंगलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा मंगलबार राति वर्षाले खेल प्रभावित गरेपछि बैंगलोर र राजस्थानबीचको खेल नतिजाविहीन बनेको हो । 

वर्षाको कारण ५ ओभरमा घटाईएको खेलमा बैंगलोरले दिएको ६३ रनको लक्ष्यसहित राजस्थानले ब्याटिङ गरिरहदा पुन पानी परेपछि खेल रद्द भएको हो । 

वर्षाले खेल रोकिनुअघि राजस्थानले ३ ओभर २ बलमा १ विकेट गुमाएर ४१ रन बनाएको थियो । राजस्थानका सन्जु सामसनले २८ रन बनाएका थिए ।  यस्तै लियाम लिभिङस्टोन ११ रनमा अविजित रहेका थिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोर ५ ओभरमा ७ विकेट गुमाएर ६२ रन जोडेको थियो ।

बैंगलोरका लागि कप्तान विराट कोहलीले २५ तथा एबी डी भिलियर्सले १० रन जोडे ।

बैंगलोरविरुद्ध राजस्थानका श्रेयस गोपालले ह्याट्रिक विकेट लिए । श्रेयसले पहिलो ओभरको चौंथो बलमा कोहली, पाँचौमा भिलियर्स र अन्तिम बलमा मार्कुस स्टोनिसलाई आउट गर्दै ह्याट्रिक विकेट पुरा गरेका थिए  ।

यस्तै ओशाने थोमसले २ विकेट लिए ।

राजस्थानसंगको खेल रद्द भएसंगै बैंगलोर प्रतियोगिताबाट बाहिरिएको छ । बैंगलोर यस सिजनको आईपीएलबाट बाहिरिने पहिलो टोली बनेको छ । पुछारको बैंगलोरको १३ खेलबाट ९ अंक रहेको छ । 

राजस्थानको भने प्ले अफ सम्भावना कायम रहेको छ । राजस्थानले १३ खेलबाट ११ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ । 

प्रतिकृया दिनुहोस