खुल्यो गण्डकी मेडिकल कलेजमा लागेको ताला

Khulyo tala

पोखरा । गण्डकी मेडिकल कलेजका विद्यार्थीले गण्डकी शिक्षण अस्पतालमा लगाएको ताला कास्की प्रशासनले सोमबार तोडेको छ । तोकिएभन्दा धेरै पैसा लिएको भन्दै गण्डकी शिक्षण अस्पतालमा विद्यार्थीले ताला लगाएका थिए ।

लिइएको बढी पैसा फिर्ता नलिएसम्म आन्दोलन नछाड्ने अडानका साथ विद्यार्थीले आइतबारबाट भएको एसबीबीएस तेस्रो वर्षको परीक्षा पनि दिएनन् । ८६ जना विद्यार्थीले परीक्षा फारामै बहिस्कार गरेका थिए । विद्यार्थीले २ देखि ७ लाख रुपैयाँ बढी पैसा आफूहरुसँग कलेजले असुलेको बताएका छन् ।

सन् २०१५ पछिका ब्याचका विद्यार्थीले कलेजमा पनि ताला लगाएका छन् । त्यो ताला भने अझै खुलेको छैन । गएको माघ दोस्रो सातादेखि आन्दोलनरत विद्यार्थी अस्पताल परिसरमै रिले अनसनमा छन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाका गण्डकी मेडिकल कलेजका विद्यार्थीको आन्दोलनमा त्रिभुवन विश्वविद्यालयको ध्यानाकर्षण भइसकेको छ । उनले कलेजका अध्यक्ष खुमा अर्याललाई समेत डाकेर विद्यार्थीसँग वार्ता गराएको पनि बताए ।

विद्यार्थीले भने त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानबाट आउने छानबिन समितिलाई नै कलेज व्यवस्थापनले हात लिइसकेको आरोप लगाएका छन् । त्रिभुवन विश्वविद्यालयले डा. ओमप्रसाद बराल संयोजकको ३ सदस्यीय छानबिन समिति बनाएर कलेज पठाएको थियो । त्यसमा बाबुराम दाहाल र डा. पुष्करसिंह रैखोला सदस्य छन् ।

प्रतिकृया दिनुहोस