नेपाल आइडल रविलाई एउटी दिदीको यस्तो आयो खुल्ला पत्र

Deepa nepali

प्यारो भाई रवि
आज मैले यो पत्र लेख्ने रहर होइन, तर तिमीलाई दैवले दिएको चोट र तिम्रो खुशीमा परेको बज्रपातको परिस्थितिले मलाई यो पत्र लेख्न बाध्य बनायो ।

रवि भनेर आमाले बोलाउने स्वर उनको बाल्यकालमा दैवले लुटेको थियो । फेरि जन्म दिने आमा गुमाए पनि तिमीलाई माया गर्ने र तिमीले आमा भनेर बोलाउने तिम्रीलाई दैवले खोसेर लग्यो । तिम्री आमा तिम्रो मात्रै होइनन्, म जस्ता धेरै नेपालीकी आमा हुन् । तिमीलाई मात्र यो वियोग परेको छैन, सारा नेपाली र तिम्रो स्वरमा डुब्नेहरुलाई परेको छ । तिम्रो मात्रै होइन, साराको आँखा रसाएको छ ।

प्यारो भाई रवि 
तिमीलाई परेको वियोगमा सामाजिक सञ्जालमा शब्दहरु तिम्रा आसुसँगै बगेका छन् । मेरो मन मात्र कहाँ हो र, तिम्रा सबै शुभचिन्तकहरुको आँखा रसाएको छ । अनि सबैले तिम्रो पीडामा पीडाबोध गर्दै कसैले कविता त कसैले आफ्ना भनाईहरु राखेका छन् । हेर त तिमीलाई माया गर्ने तिम्रा शुभचिन्तकहरु कति छन् ? एकपटक त्यो पीडालाई शक्तिमा परिवर्तन गर्दै शुभचिन्तकहरुलाई पनि बलियो मन बनाएर सम्झाउन सक्नुपर्छ । त्यो पीडा केवल तिमीलाई मात्र कहाँ हो र ? हर कोही मानिसलाई दैवले दिने चोट हो । त्यसमा तिमीले आफुलाई कमजोर बनाएर आफ्ना सपनासँगै कुद्ने पाईलाहरुलाई बन्धक बनाएर राख्नु हुँदैन । किन भने एक पटक फर्किएर हेर त जीवन कति कहाली लाग्दो परिस्थितिबाट गुज्रिँदै अघि बढेको छ ? तिम्रा पाईलाहरु कति पीडा र चुनौतीको संघारमा छन् ?

दैवले पनि त्यसै कमजोर मनहरुलाई चोट दिन्छ । छानीछानी त्यहि महान व्यक्तिलाई उसले गरेको संघर्ष र चालेका पाईलाहरुको परीक्षा लिँदै झन पीडा दिएको हुन्छ । आज तिमी त्यही कोपभाजनमा परेका छौं । तिमी एक सफल र प्रतिभावान व्यक्ति भएकै कारण पनि तिम्रो खुशीमा पीडा दिँदै धैर्यता र चोट सहन सक्ने क्षमताको परीक्षा फेरि पापी दैवले लिँदै छ । त्यसैले यस पीडामा एक थोपा आँसु नझार्नु रवि । किनकि तिम्रो आँशुको मुल्यांकन दैवलाई गर्न नदेउ ।

त्यो भगवान तिम्रो भगवान होइन, जो तिमी हामीले दुःख पर्दा हे भगवान भन्ने गर्छौ । भगवान त तिनीहरु हुन्, जसले तिमीलाई माया गर्ने आमा र तिम्रा स्रोताहरुले माया दिएर नेपाल आईडल बनाए । एकपटक सोच त तिमीले नेपाल आइडलमा जित्दा मर्ने मान्छे थिए भने त्यो भन्दा धेरै तिम्रो यस पीडामा कमजोर भएर रुदा पनि त मर्ने मान्छेहरु पनि त छन् । त्यसैले तिमीले आफ्ना स्रोतालाई एकपटक बलियो मन गरेर सम्झाउन सक्नुपर्छ ।

तिमिलाई थाहा नै छ झमक घिमिरेद्धारा लेखिएको नोवल पुरस्कार विजेता जीवन काँडा कि फूल’ त्यसै जीवनसँग तुलना गरी कहाँ लेखिएको हो र अनि अब्राहम लिंकनको जीवनीलाई हेर त । त्यस्ता पीडा केहि बन्नेहरुका लागि भन्दा केहि गर्ने महान व्यक्तिहरुका लागि मात्र आउँछन् । जसभित्र तिमी पनि एक महान व्यक्ति हौँ । अहिले रवि ओड भनेर हामी सबैले गौरव र सम्मान गर्ने ठाउँ तिमीले दिएका छौँ । त्यसैले तिमी यस पीडाभन्दा माथि उठ्नुपर्छ र तिम्रा स्रोताहरुको मायालाई निरन्तरता दिनुपर्छ ।

प्यारो भाई रवि, 
अब तिमिले यो कुरा बुझ्नुपर्छ आमाले रवि भनेर बोलाउनु हुन्थ्यो । तर तिमीलाई अरुको लागि नेपाल आइडल बनाएर छाड्नु भएको छ । जहाँ हजारौँ आमाले जन्माउने छोरा रवि जस्तै र आमा रविकै जस्तो हुनपर्छ भनेर आमा छोराको सम्बन्ध तिम्रो प्रगति र आमाको त्यागले ईतिहास रचेको छ । तिमी धेरै रुँदै छौँ रे भाई । त्यो तिम्रो अहिलेको मात्र पीडा कहाँ हो र ? जुन दिन तिमीलाई जन्म दिने आमाबाट दैवले टाढा बनायो, अहिले त्यो घाउ बल्झिएको मात्र हो ।

जुन पीडा देश विदेशमा रहेका तिम्रा शुभचिन्तकहरुले त्यस्तो पीडा हिजो पनि र आज पनि बोध गर्दै आएका छन् । त्यो पीडा न त सोच्न सकिन्छ र न त सोचेर नै काम छ । न त कुनै सामना गर्ने उपाय नै छ । त्यसैले त रवि तिमी काँडामा फूल र चट्टान फोरेर उम्रिएको रुख बन । जमिन फोरेर फुटेको मुल बन । रवि अब सबैको मन जित्ने व्यक्ति बन । तिमीलाई जन्म दिने र कर्म दिने आमाले तिम्रो खुशीमा साथ दिन नसके पनि तिम्रो खुशी र प्रगतिको लागि हजारौँ नेपाली आमाहरुको आशिर्वाद तिम्रो शिरमाथि रहिरहने छ । तिम्री आमा हाम्री पनि आमा हुन् । तिम्रो पीडामा मलम लगाउन नसके पनि श्रञ्जाञ्जलीका शब्दहरुमार्फत तिमीसामु म र लाखौ स्रोता उपस्थित छौं ।

उही तिम्रो दिदि
दीपा नेपाली

(नेपाली त्रिविवि किर्तिपुरमा एमएड दोस्रो सेमेस्टरमा अध्ययनरत छिन्)

प्रतिकृया दिनुहोस