रितुङ माविको विद्यालय भवन वाढीले बगाउँदा पठनपाठन ठप्प

Badhi

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा बाढीले रितुङ माविको विद्यालय भवन बगाएपछि पठनपाठन ठप्प भएको छ । पहिरोले भवनसहित विभिन्न ठाउँमा पैदलमार्ग बगाएको, बाँकी भवन पनि कटानको जोखिममा रहेकाले दुई हप्ताका लागि पठनपाठन बन्द गरिएको प्रधानाध्यापक खिमबहादुर छन्त्यालले बताए ।

कक्षा १० सम्म पठनपाठन हुने सो विद्यालयमा १७५ विद्यार्थी अध्ययनरत छन् । विद्यालय परिसर कटानको उच्च जोखिममा परेपछि स्थानान्तरणको पहल थालिएको छ ।

बाढीले कटान गरेर कुइनेमङ्गलको खरिबोटमा चन्द्रबहादुर र यामबहादुर छन्त्यालको घर बगाएको छ भने बेलबहादुर, चन्द्रप्रसाद, भक्तप्रसाद छन्त्याल र भक्तिप्रसाद विकको घर उच्च जोखिममा परेपछि विस्थापित भएका छन् ।

नदीले बस्तीतर्फ कटान गर्न थालेपछि रघुगङ्गाको किनारमा अवस्थित घ्याँसीखर्कका १६ घर जोखिममा परेका छन् ।

सहारा युवा क्लबको भवन र खेलमैदान बाढीले पुरिएको छ । दुलेखर्क र घ्याँसीखर्कको सिमानामा रघुगङ्गा नदीमाथि रहेको झोलुङ्गे पुल उच्च जोखिममा परेको छ ।

स्वास्थ्य चौकी भवन निर्माणस्थलमा बाढी परेर क्षति पु-याएको छ । छहरीका दुई घर जोखिममा परेका छन् । पहिरोले पोल बगाउँदा ३५ घरधुरीको बसोबास रहेको दुवाडीमा विद्युत् आपूर्ति बन्द भएको छ ।

बाढी, पहिरो र कटानका कारण खेतीयोग्य जमीनमा समेत क्षति पुगेको पीडित चन्द्रबहादुर छन्त्यालले बताए ।

दुईवटा काठको अस्थायी पुल बाढीले बगाउँदा आवतजावतमा समेतकठिनाइ भएको छ । छहरीस्थित शिवालय मन्दिर बाढीले बगाएको छ । झिङखानी महिला बचत तथा ऋण सहकारी संस्थाको भवन पहिरोले पुरिएको छ ।

बाढी पहिरोका कारण एकजना महिलाको ज्यान जानुका साथै तीन करोड बराबरको भौतिक सम्पत्तिको क्षति भएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस