दुई वर्षमा १८ नयाँ पुल बन्ने

जीर्ण र साँघुरा पुल चौडा परिने

Chandra

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको हाल पुल भएका स्थानमा आउँदो दुई वर्षभित्र १८ वटा नयाँ पुल बनाइने भएको छ ।

सो सडक खण्डमा हाल रहेका पुल साँघुरा र जीर्ण छन् । सडक विभागको वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठका अनुसार चार पुलको आउँदो एक महिनाभित्र ठेक्का सम्झौता हुने छ ।
उनका अनुसार बोलपत्र भइसकेका ती पुलको ठेकेदार चयनपछि निर्माणको काम अघि बढ्ने छ ।

अन्य १४ पुलका लागि नक्शांकनको काम भइरहेको छ । महाशाखा प्रमुख श्रेष्ठले भने, “डिजाइन एण्ड बिल हुँदैछ । एक आधा महिनामा काम सकेर टेण्डरमा जान्छौँ ।”

हाल ठेक्का भइसकेका चार पुलमा नारायणगढबाट १२ किमी दासढुंगा, १६ किमी खानी पुल, २२ किमी मौरी पुल र २९ किमी जलबिरे छन् । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनीयर शिव खनालका अनुसार सो सडकमा हाल रहेका पुल छ मि मात्र चौडा छन् । अब बन्ने पुल ११ मि चौडा हुने छन् ।

पुलको दुवैपट्टि छेउमा एक दशमलव पाँच मिटरका दरले फुटपाथ रहने छ ।
पुराना पुललाई मर्मत गरी आवतजावत गर्न मिल्ने अवस्थामा राखिनेछ । बीचको भागबाट दुई गाडी एकैसाथ आवतजावत गर्नसक्नेछन् ।

विभागका उपमहानिर्देशक श्रेष्ठले आउँदो दुई वर्षमा सबै पुल नयाँ बनिसक्ने बताए ।

पुल निर्माणका लागि झण्डै रु एक अर्ब खर्च हुने अनुमान गरिएको छ । सोमध्ये आधा रकम नेपाल सरकार र आधा रकम विश्व बैंकले लगानी गर्ने छन् । विश्व बैंककै लगानीमा हाल सो सडक विस्तारको काम भइरहेको छ ।

प्रतिकृया दिनुहोस